Skip to main content

महाकालीमा पानीको बहाव खतरा भन्दा माथि, बनबसा पुलको आवागमनमा रोक

Submitted by editor on
ईबिगुल संवाददाता
शारदा ब्यारेज

महेन्द्रनगर : महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज  लगाइएको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपांग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो । 

साना सवारीसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिए । आज बिहान ७ बजे महाकाली नदीमा गरिएको मापनअनुसार अहिले पानीको बहाव एक लाख ६४ हजार ६ सय ६० क्युसेक रहेको छ । 

‘शनिबार बेलुकी ४ बजेदेखि नै पानीको बहाव बढेपछि बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाइएको छ’, उनले भने । शनिबार साझँ महाकालीमा एक लाख पाँच हजार क्युसेक पानी मापन गरिएको थियो । बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाउपछि पश्चिमीनाका गड्डाचौकी हुँदै नेपाल–भारत आवतजावत गर्ने यात्रु मर्कामा परेका छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सूचना जारी गर्दै यहाँका नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् । केन्द्रीय विपद् व्यवस्थापन महाशाखाका अनुसार कञ्चनपुर र कैलालीमा भारी वर्षा हुने सम्भावना छ । यहाँ शनिबार देखि लगातार वर्षा भइरहेको छ ।