Skip to main content

बाजुराका अधिकांस ग्रामीण सडकहरु अवरुद्ध

Submitted by editor on
ईबिगुल संवाददाता
ग्रामीण सडकहरु पनि बन्द

बाजुरा : लगातारको अविरल वर्षासँग आएको पहिरोका कारण सदरमुकाम जोड्ने साफे, मार्तडी सडकलगायत जिल्लाका अन्य शाखा सडकहरू अवरुद्ध भएका छन । 

बुधबार  रातिदेखि आएको वर्षाका कारण साफे मार्तडी सडक अन्तर्गत बुढीगंगा नगरपालिका– ३ ताँप्रीसेर बडिमालिका नगरपालिका– ४ रिला र वडा नम्बर ९ कारागार नजिकै पहिरो आएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

ठाउँठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएसँगै स्थानीयलाई आवतजावतमा समस्या भएको छ । सडक अवरुद्ध भएपछि लामो तथा छोटो दुरीका यातायात बाटोमै रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् ।  अवरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय साँफेमा समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए ।

पानी परिरहेकाले सडक तत्काल खुलाउन समस्य देखिएको पोडेलले जानकारी दिए । तगातार पानी परिरहे अन्य ठाउँमा समेत पहिरो जाने सम्भावना रहेकाले स्थानीयहरूलाई सचेत रहन प्रमुख जिल्ला अधिकारी पौडेलले अनुरोध गरेका छन् ।

ग्रामीण सडकहरु पनि बन्द
जिल्लाको पूर्वी उत्तरी क्षेत्र जोड्ने मार्तडी–कोल्टी सडक विगत एक महिनादेखि अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा जिल्लाका उत्तर पूर्व क्षेत्रका नागरिकहरूलाई  पैदल यात्रा गरेर सदरमुकाम मार्तडी र अन्य ठाउँमा जानुपर्ने वाध्यता छ ।

मार्तडी कोल्टी सडक खण्ड ठाउँठाउँमा पहिरोका कारण अबरुद्ध भएको छ भने बाहुली, अनाई, नाउलेगाड, दानसाँघुलगायतका पुल  सञ्चालनमा थप समस्य भएको मार्तडी जीप काउण्टरका मनोज बोहोराले बताए । उनले भने, ‘खोलाहरू सबैमा पुल छैन। बाँकी ठाउँमा पहिरोले सडक बन्द छन् । यातायात सबै ठाउँठाउँमा अलपत्र छन् ।’

लगातारको वर्षाका कारण मार्तडी, घटमुना बल्दे आटिचौर हुँदै बझाङ जोड्ने सडक,डाब बजार खप्तड पर्यटन सडक,बाम्का त्रिबेणी सडक समेत अवरुद्ध बनेका छन् । मार्तडी, कोल्टी सडक अवरुद्ध हुँदा उत्तरी भेगका स्थानीयले सास्ती भोग्दै आएका छन् । बाटो अप्ठ्यारो भएकाले आवतजावात गर्न निकै कठिन हुने गरेको यात्रुहरूले बताए ।

सडक समयमै निर्माण नहुँदा यहाँका स्थानीयहरूले हरेक वर्षा याममा पैदल यात्रा गर्न बाध्य हुनु परेको हो । जथाभावी रुपमा खनिएका सडकहरूले जिल्ला नै पहिरोको उच्च जोखिममा रहेको जिल्ला दैवी प्रकोप उद्धार समिति बाजुराको तथ्यांकमा रहेको छ ।

प्राविधिक रुपमा चेकजाँच नै नगरी काटिएका सडकहरूले पहिरो निम्त्याउने भएपछि जिल्लाबासी त्रसित बन्दै गएका छन् ।