Skip to main content

एसईई नतिजामा चरम लापरवाही, पुनर्योग गर्दा ९४ जनाले ल्याए ४ जीपीए

Submitted by editor on
परीक्षा नियन्त्रण कार्यालयले पुनर्योग गर्न दिएको समयमा १९ हजार ६ सय विद्यार्थीले आवेदन दिएका थिए । जसमध्ये ९ हजार ६४६ जनाको कार्यालयले पुनर्योगको नतिजा सार्वजनिक हुँदा थप ९४ जनाको ४ जीपीए आएको हो ।
एजेन्सीहरुको सहयोगमा
परीक्षा नियन्त्रण कार्यालय

काठमाडौं  ः एसईईको परिक्षामा परीक्षा नियन्त्रण कार्यालयले चरम लापरवाही गरेको पाईएको छ । गत १३ असारमा सार्वजनिक माध्यमिक शिक्षा परीक्षाको नतिजामा चित्त नबुझेर पुनर्योग (रिटोटलिङ) गर्दा थप ९४ जना परीक्षार्थीले ४ जीपीए ल्याएपछि कार्यालयको चरम लापरवाही भएको पुष्टि भएको हो । 

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा सार्वजनिक गर्दा १८६ जनाले मात्र ४ जीपीए ल्याएका थिए । परीक्षामा सहभागीमध्ये करिब ४८ प्रतिशत मात्र ११ पढ्न योग्य भएका थिए भने ५२ प्रतिशत अनुतीर्ण भएका थिए ।

परीक्षा नियन्त्रण कार्यालयले पुनर्योग गर्न दिएको समयमा १९ हजार ६ सय विद्यार्थीले आवेदन दिएका थिए । जसमध्ये ९ हजार ६४६ जनाको कार्यालयले पुनर्योगको नतिजा सार्वजनिक हुँदा थप ९४ जनाको ४ जीपीए आएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले विद्यार्थीको उत्तरपुस्तिका परीक्षणमा कुनै कमजोरी नभएको र विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्क कम्प्युटरमा चढाउने क्रममा कमजोरी भएको बताए ।

‘नियन्त्रकज्यूले जानकारी दिए अनुसार कपी इक्जामिन सही ढंगले भएको तर नम्बर कम्प्युटरमा इन्ट्री गर्ने क्रममा कमजोरी भएको छ’ उनले भने । ‘६८ अंकलाई ०८ चढाइएको, ७७ लाई ११ चढाइएको पाइएको भन्ने छ अंग्रेजी अंकमा नबुझेर त्यसरी गल्ती भएको हो कि भन्ने बुझिन्छ अक्षरमा लेखिएकोलाई ध्यान नदिएको पाइयो ।’ 

कम्प्युटरमा अंक टाइप गर्ने प्राविधिकको कमजोरीले पुनर्योगको नतिजामा फरक आइरहेको प्रवक्ता दाहालको भनाइ छ । काठमाडौं विश्वविद्यालय, स्कुल अफ एजुकेशनका डीन प्रा.डा.बालचन्द्र लुईंटेल यो नतिजाले शिक्षक, कर्मचारीको लापरवाहीले प्रणालीमाथि नै अविश्वास बढ्ने स्थिति सिर्जना भएको बताए ।

‘रिटोटलिङ गर्दा दशमलवमा अंक फरक पर्नु स्वभाविक मान्न सकिन्छ तर एनजी आएकाको ४ जीपीए आउनुले गम्भीर लापरवाही भएको देखिन्छ’ उनले भने । यसलाई मानवीय त्रुटिको नाम दिएर सामान्य बनाउन नहुने भन्दै उनले यति ठूलो कमजोरीमा संलग्नलाई दण्ड दिनुपर्ने बताए ।

सामुदायिक विद्यालयका प्रधानाध्यापहरुको छाता संगठन प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) का अध्यक्ष सुदामप्रसाद गौतमले पुनर्योगको नतिजाले परीक्षा प्रणाली कमजोर छ भन्ने देखाएको बताए । पुनर्योगको नतिजालाई स्वभाविक रुपमा लिन नसकिने भएकाले परीक्षा बोर्डले यसको समीक्षा गर्नुपर्ने उनले बताए । 

पुनर्योगको निवेदनपछि नतिजा फरक पर्नुले धेरै विद्यार्थीलाई अन्याय भएको देखिएको शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला बताउँछन् । नम्बर चढाउने ठाउँमा त्रुटि भएको परीक्षा बोर्डले भनिरहेकाले ती कर्मचारीको गैरजिम्मेवारीपनले विद्यार्थी मर्कामा परेको उनको भनाइ छ ।