धनगढी ः ट्राफिक प्रहरीले एक वर्षमा जरिवाना वापत झण्डै पौने दुई अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । नेपाल प्रहरीले पछिल्लो आर्थिक वर्ष २०८०÷८१ मा सम्पादन गरेको कामबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यो आर्थिक वर्षमा १ अर्ब ७५ करोड ८१ लाख ८६ हजार ७६० रुपैयाँ राजश्व संकलन भएको जानकारी दिइएको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्नेलाई कारबाही गर्दै आएको छ । केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार सवारी कारबाहीमार्फत राजश्व संकलन प्रहरीको मुख्य जिम्मेवारी नभएपनि यातायात व्यवस्था ऐन अन्तरगत कारबाही गर्ने गरिएको छ ।
‘त्यसअनुसार आर्थिक वर्ष ०८०÷८१ मा २२ लाख ९१ हजार ८१७ जनालाई कारबाही गरेर झण्डै दुई अर्ब रुपैयाँ राजश्व सरकारी कोषमा जम्मा गरिएको हो’ डीआईजी कार्कीले भने । ‘यसअघि आर्थिक वर्ष ०७९÷८० मा एक अर्ब ८८ करोड १४ लाख ५४ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको थियो ।’ यो आर्थिक वर्षमा सवारी दुर्घटनामा परेर २ हजार ३६९ जनाको मृत्यु भएको छ भने ६ हजार १६० जना गम्भीर र २५ हजार ९९६ जना साधारण घाइते भएको कार्कीले बताए । उनका अनुसार, यो अवधिमा ३५ हजार ४०४ सवारी दुर्घटना भएको छ ।
यातायात व्यवस्था ऐनअनुसार निर्धारित भाडादरभन्दा बढी असुली गरे, दुर्घटनामा परेको सवारी तथा यात्रीको हानि नोक्सानी पु¥याए, सम्पर्कमा नआए लगायतका कसुरमा ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।
प्रयोजन विपरित सवारी चलाए, सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाए र सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारण गरिएकोमा त्यसभन्दा बढी राखेर चलाए दुई हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरेको छ ।