Skip to main content

बाजुराको मार्तडीमा बनिरहेको चिस्यानगृह अलपत्र, किसान समस्यामा

Submitted by editor on
पदमबहादुर सिंह
चिस्यानगृह अलपत्र

बाजुरा :  जिल्ला सदरमुकाम मार्तडीमा निर्माणाधिन अवस्थामा रहेको चिस्यानगृह अलपत्र अवस्थामा रहेको छ । चिस्यान गृह अलपत्र भएपछि किसानहरु समस्यामा परेका छन् । 

चिस्यान गृहको काम अलपत्र परेपछि किसान तथा किसान समूहले उत्पादन गरेका तरकारी, बीउ, फलफूल लगायतका कृषिजन्य बस्तुहरु भण्डारण गर्न नपाउँदा आफूहरुलाई समस्या भएको स्थानीय किसान डबल रोकायाले बताए ।

मौसम अनुसार उत्पादन गरेका कृषिजन्य बस्तुलाई वेमौसमी समयमा विक्रीवितरण गर्न र बजारमा विक्री हुन नसकेका तरकारी तथा फलफूलहरुलाई भण्डारण गर्ने चिस्यान गृहको अभावमा तरकारी तथा फलफूलहरु कुहिएर खेर जाने गरेको रोकायाले बताए । 

जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख मीनप्रसाद जैशीले किसानले उत्पादन गरेका कृषिजन्य बस्तुहरुको सुरक्षा र मूल्यमा स्थिरता कायमगर्ने अवधारणा अनुरूप सितभण्डार केन्द्र निर्माण कार्य सुरु भएपनि सम्पन्न नभएपछि आफूहरुले उत्पादन गरेको तरकारी तथा फलफूल कुहिँएर जाने गरेको बताए ।

चिस्यान केन्द्र समयमै सञ्चालनमा नआउँदा उपभोक्ताहरुले अन्य जिल्लाबाट आयात गरिएको तरकारी तथा फलफूल चर्को मुल्यमा किन्नु पर्ने र किसानहरुले उत्पादन गरेको तरकारी सस्तो मुल्यमा बेच्नु पर्ने बाध्यता रहको स्थानीय किसान बोहराले बताए । 

प्रमुख जैशीका अनुसार अहिले कृषि ज्ञान केन्द्रले किसानको बारीबाटै सुन्तला ढुवानी अनुदानमा सहयोग गरेको छ । चिस्यानगृह संचालन भएको भए तीन महिना पछि किसानले राम्रो मुख्यमा बिक्रि गरेर आम्दानी गर्न सक्थ्ये । चिस्यानगृह नहुदा सस्तो मुल्यमा बिक्रिगर्नु परेको उनले बताए । अहिले  प्रतिकिलो १ सय रुपियाँमा विक्री भएको सुन्तला तीन महिना पछि २ सय रुपैया बढीमा बित्रि हुने उनको भनाई थियो । 

कृषि निर्देशनालय दिपायलका कृषि इन्जिनियर कोषराज बडुका अनुसार २०७८ बैशाखमा ठेक्का समझौता भएर सोहि आर्थिक बर्षको असार मसान्तसम्म सक्ने गरी एस एच कन्ट्रक्सनले कामको ठेक्का समझौता भएको थियो । कुल  ५६ लाख ४९ हजार ५ सय ८० रुपैयामा ठेक्का आह्वान भएकोमा जिम्मा पाएको कम्पनीले ४१ लाख ९६ हजार ६ सय ४५ रुपैयमा सम्झौता गरेको थियो । 

उक्त कोल्ड स्टोर निर्माणको कार्य बजेटको अभावकाकारण अलपत्र परेपछि सुदूरपश्चिमप्रदेश मन्त्री परिषद्बाट बजेट थपगर्ने निणर्य भएपछि अबलगत्तै काम सुरु हुने कृषि निर्देशनालय डोटीका कृषि इन्जिनियर कोषराज बडुले बताए ।

२०८१ को बैसाख महिनासम्म उक्त कोल्डस्टोर निर्माणको म्याद रहेकाले तत्काल काम सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिइसकेको कृषि इन्जिनियर बडुले बताए ।