Skip to main content

सहचालक चौधरीलाई अपहरण गर्ने पाँच जना विरुद्ध मुद्धा दर्ता

Submitted by editor on
चौधरीले नारायण शाही, गोविन्द साउँद, हेमन्त पौडेल, भावेश सापकोटा र सागर शाहका विरुद्ध मुद्धा हालेका हुन । मुद्धा परेका पाँच जना मध्ये नारायण शाही र गोविन्द साउँद पक्राउ परिसकेका छन ।
ईबिगुल संवाददाता
अपहरणमा परेका लोकेन्द्र चौधरी

धनगढी : कैलालीको चिसापानी क्षेत्रबाट अपहरणमा परेका लोकेन्द्र चौधरीले पाँच जनाका विरुद्ध अपहरण मुद्धा हालेका छन । ईलाका प्रहरी कार्यालय लम्कीमा उनले ५ जना विरुद्ध अपहरण तथा शरिर बन्धक मुद्धा दर्ता गराएका हुन । 

चौधरीले नारायण शाही, गोविन्द साउँद, हेमन्त पौडेल, भावेश सापकोटा र सागर शाहका विरुद्ध मुद्धा हालेका हुन । मुद्धा परेका पाँच जना मध्ये ईलाका प्रहरी कार्यालय लम्कीले दुई जनालाई पक्राउ गरिसकेको छ ।

प्रहरीले सोमवार राति घटना स्थलबाट नारायण शाही र मंगलबार चिसापानी क्षेत्रबाट गोविन्द साउँदलाई पक्राउ गरिसकेको छ । मुद्धा परेका हेमन्त पौडेल, भावेश सापकोटा र सागर शाह फरार छन । उनीहरूको खोजी कार्य जारी रहेको कैलाली प्रहरीले बताएको छ ।

मोहन्याल गाउँपालिका–७ पितमारी क्षेत्रमा ट्याक्टरमा दाउरा ल्याउदै गरेका गाडी चालक अनुराग चौधरी र सह–चालक लोकेन्द्र चौधरीलाई उनीहरुले कुटपिट गरेका थिए भने सह–चालक लोकेन्द्रलाई अपहरण गरि लगेका थिए । 

अपहरणमा परेका गाडीका सह–चालक चौधरी दोस्रो दिन साँझ घर फर्किएका थिए । सोमवार रातिबाट स्थानीय युवाहरूको समूहले अपहरण गरेका लोकेन्द्र चौधरी मंगलवार साँझ घर फर्किएका हुन् । मङ्गलवार बिहान साढे ५ बजे घर पुगेका चौधरीले युवाहरुको समुहबाट उम्किन सफल भएका बताएका थिए ।

उनले मोहन्याल गाउँपालिका–७ कसैनी क्षेत्रबाट अपहरणकारीबाट फुत्किएको प्रहरीलाई बताएका छन । अपहरणकारीले उनलाई सुर्खेत लैजाने तयारी गरेको पनि उनले बताएका छन । अपहरणकारीहरू गाडी र पानीको खोजी गर्न थालेपछि लोकेन्द्र मोहन्याल गाउँपालिकाको राजकाँडा, नेपाली सेनाको गोरांगे ब्यारेक हुँदै घर पुगेका थिए । 

उनको निधारमा चोट छ । गाडीका चालक अनुराग चौधरीलाई समेत चोट लागेको छ । उनीहरूको लम्कीको लालरत्न अस्पतालमा उपचार भएको छ ।
सोमवार राती पितमारी खोलामा कचाली गाउँबाट दाउरा बोकेर आउँदै गरेको भे १ च ३७१४ नम्बरको ट्याक्टरमा धनीराम चौधरी, चालक अनुराग चौधरी, सह–चालक लोकेन्द्र चौधरी र मीन माझीमाथि स्थानीय युवाहरूको समूहले आक्रमण गरेको थियो । 

उनीहरूलाई कुटपिट गर्दै गर्दा प्रहरी पुगेपछि केही युवाहरूले सह–चालकलाई सँगै लिएर गएका थिए ।