Skip to main content

धनगढीमा साउन २६ गते रक्तदान महोत्सव, पहिलो पटक रगत दिनेलाई अफरै अफर

Submitted by editor on
ईबिगुल संवाददाता
बृहत रक्तदान महोत्सव

धनगढी : हरेक वर्ष झैं यसवर्ष पनि बैतडी समाज कैलालीले साउनको २६ गते बृहत रक्तदान महोत्सवको आयोजना गर्ने भएको छ । रक्तदान महोत्सवका सह संयोजक राज बहादुर चन्दले साउनको २६ गते बृहत रक्तदान महोत्सवको तयारी गरिएको बताए ।

बैतडी समाजले हरेक वर्ष दुई पटक रक्तदान कार्यक्रम र एक पटक स्वास्थ्य शिविर गर्दै आएको छ । धनगढीको पदमा नर्सिङ कलेजको परिषरमा रक्तदानमा सहभागिताका लागि बैतडी समाजले अनुरोध गरेको छ । 

बैतडी समाज कैलाली गठन भएयता यो १३ औं पटकको बृहत रक्तदान हो । अहिलेसम्म गरिएका १२ वटा कार्यक्रममा १ हजार ७५ जनाले रक्तदान गरिसकेका बैतडी समाजले जनाएको छ ।

समाजका रक्तदान संयोजक विर बहादुर महराले यसपाली रक्तदान गर्नेलाई अफरै अफर रहेको बताए । पहिलो पटक रक्तदान गर्नेलाई रेन्वो कलर ल्याबले उनको रक्तदान गरिरहेको फोटो फ्रेम गरेर उपहार दिने भएको छ ।

यस्तै पहिलो पटक रक्तदान गर्नेहरुलाई धनगढी–४, उत्तरबेहडी स्थित समृद्धि डेन्टलले एक वर्षका लागि निःशुल्क दन्त सेवा उपलब्ध गराउने भएको छ । 
रातोपुलमा रहेको डिलाईट क्याफेले पहिलो पटक रक्तदान गर्ने र उनको एक जना साथी सहितलाई एक वर्षसम्मका लागि १० प्रतिसत छुट कार्ड उपलब्ध गराउने भएको छ ।  

चटकपुर स्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले पहिलो पटक रक्तदान गर्ने रक्तदाता र परिवारको थप एक जना सदस्यलाई एक वर्षभरी ओपिडि पर्चाको शुल्क मिनाहा गर्ने भएको छ ।

धनगढीकै अनुपमा बेकरीले पहिलो पटक रक्तदान गर्नेलाई उसको एउटा जन्मदिनमा एउटा केकमा ५० प्रतिसत छुट दिने भएको छ ।