Skip to main content

बजेट सून्यताको गाँठो फुकाउन अध्यादेश, विहीबार विहानको क्याविनेट बैठकमा पेशगर्ने तयारी

Submitted by editor on
आर्थिक मामिला मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले ‘सुदूरपश्चिम सामयीक कर संकलन सम्बन्धी अध्यादेश २०८१’ ल्याउन लागेको हो । यसमा करका पुनानै दरहरु कायम गरिएका छन ।
शिवराज भट्ट
मन्त्रिपरिषद

धनगढी : सुदूरपश्चिममा कर संकलन गर्न सरकारले अध्यादेश ल्याउने भएको छ । आर्थिक मामिला मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले ‘सुदूरपश्चिम सामयीक कर संकलन सम्बन्धी अध्यादेश २०८१’ ल्याउन लागेको हो ।

आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले  ‘सुदूरपश्चिम सामयीक कर संकलन सम्बन्धी अध्यादेश २०८१’ को मस्यौदा तयार भईसकेको र विहीबार विहान ९ बजेको मन्त्रिपरिषदको बैठकमा पेश हुने बताए । 

तत्कालिन दीर्घ बहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि असार १ गते संसदमा प्रस्तुत भएको बजेट पास हुन नसकेपछि साउन १ गते देखि सुदूरपश्चिम प्रदेशमा बजेट शन्यताको अवस्था आएको थियो । 

बजेट पास नभएपछि प्रदेश सरकारले उठाउने यातायात कर, लिखित पास सम्बन्धी कर, स्थानीय तहहरुले लिने मनोरञ्जन कर लगायतको कर संकलन कार्य शून्य भएको थियो । जसकारण प्रदेश सरकारलाई दैनिक एक करोडको राजश्व घाटा भईरहेको थियो । 

प्रदेश सरकारले वर्षमा झण्डै सवा २ अर्व राजश्व संकलन गर्दै आएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । विदाका दिनबाहेक कर संकलन हुने दिनहरु अनुसार दैनिक १ करोडको हाराहारीमा राजश्व घाटा भईरहेको प्रदेश कोष लेखा नियन्त्रक बाशुदेव जोशीले बताए ।

प्रदेश सरकारले ल्याउन लागेको अध्यादेशमा गत आर्थिक वर्षकै करका दरहरु राखिएका छन । यसपाली प्रस्तुत भएको बजेटमा यातायात करमा केही संसोधन गरिएको भएपनि, बजेट पास नभएकाले तत्कालका लागि अध्यादेशमा पुरानै करका दरहरु समावेश गरिएको आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले बताए ।

अध्यादेश ल्याउनकै लागि बुधबार संसदको विशेष अधिवेशन पनि अन्त्य गरिएको छ । निबर्तमान मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले संसदको बजेट अधिवेशन अचानक अन्त्य गर्न लगाएपछि काँग्रेस एमालेका एक चौथाई सांसदहरुले विषेश अधिवेशन माग गरेका थिए । 

बजेट अधिवेशन अन्त्य भएको चार दिनपछि अवथा साउन ८ गते प्रदेश प्रमुख नजिर मियाले प्रदेश सभाको विषेश अधिवेशन आह्वान थिए । प्रदेश सभाको विषेश अधिवेशनमा प्रदेशमा आएको बाढी पहिरो र प्राकतिक प्रकोपका बारेमा छलफल भएको थियो । 

बुधबारको बैठकले असारमा आएको बाढी पहिरो पडितलाई तत्काल राहत र क्षतीपूर्ती दिनका लागि सरकारलाई निर्देशन दिने प्रस्ताव पारित गरेको छ । बाढी पहिरो पडितलाई तत्काल राहत र क्षतीपूर्ती दिनका लागि सरकारलाई निर्देशन दिने प्रस्ताव पारित गर्र्दै सभामुख भीम बहादुर भण्डारीले विशेष अधिवेशन अन्त्य गरेका थिए । 

सभामुख भण्डारीले बुधबार नै प्रदेश प्रमुख मियालाई अधिवेशन अन्त्य भएको जानकारी पत्र पठाउन प्रदेश सभा सचिवलाई निर्देशन समेत दिएका थिए । 
असार मसान्तभित्र बजेट पारित हुन नसकेका कारण सुदूरपश्चिममा सरकारले कर उठाउन र खर्च गर्नसमेत पाएको थिएन । हालै कांग्रेस–एमाले गठबन्धन सरकारले पूर्णता पाइसके पनि नयाँ बजेट तयार भइसकेको छैन । त्यसैले प्रदेशसभा अधिवेशन अन्त्य गरेर ‘सुदूरपश्चिम प्रदेश सामयीक कर सम्बन्धी अध्यादेश २०८१’ ल्याउन लागिएको हो ।

बुधबारको मन्त्रीपरिषदको बैठकमा अध्यादेश पेश गर्ने तयारी गरिएको भएपनि प्रदेश प्रमुखले बुधबारको राती १२ बजेदेखि विशेष अधिवेशन अन्त्य गरेकाले विहीबार विहान ९ बजे क्याबिनेट बोलाईएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । 

‘अध्यादेश आएपछि साउन १ गते देखि रोकिएको कर संकलनको कार्य सुचारु हुनेछ भने रोकिएको सरकारी सेवा पनि सुचारु हुन्छ’ आर्थिक मामिला मन्त्रालयका सचिव अधिकारीले भने । 

सरकारले कर संकलन सुचारु भएपछि केही दिनको समय लगाएर पूर्ण रुपमा प्रतिस्थापन बजेट ल्याउने तयारी पनि गरेको छ ।