Skip to main content

धनगढीको वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माणगर्न साढेआठ करोडमा ठेक्का सम्झौता

Submitted by editor on
ईबिगुल संवाददाता
वीरेन्द्र–ऐश्वर्य उद्यान

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकासँगै जोडिएको वीरेन्द्र–ऐश्वर्य उद्यान (पार्क) निर्माण गर्न ठेक्का सम्झौता गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई, धनगढीले ८ करोड ६२ लाख ५० हजार सात सय नौ रुपैयाँमा उद्यान निर्माणका लागि ठेक्का सम्झौता गरेको हो ।

नेशनल÷पवन जेभीसँग २०८१ असार १७ गते वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माणका लागि सम्झौता गरिएको कार्यालयले जनाएको छ । उद्यानलाई आधुनिक तरिकाले निर्माण गर्न सम्झौता गरिएको सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी सौरभ कलौनीले बताए । 

वीरेन्द्र–ऐश्वर्य उद्यानसँगै धनगढीमा एक हजार दुई सय ५० मिटर सडक समेत निर्माण गर्न सम्झौता भएको हो । निर्माण कम्पनीले २०८३ बैशाख १६ गतेसम्म वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माणको काम पूरा गर्नेगरी सम्झौता भएको छ । 

धनगढीको मुख्य बजारमा रहेको उद्यान निर्माण गर्न धनगढी उपमहानगरपालिकाले विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार पारेको थियो । उपमहानगरपालिकाले रात्रिकालीन बजारसहितको उद्यान निर्माणका लागि डिपीआर तयार पारेको हो । 

धनगढी उपमहानगरपालिकाको ३५ करोडको डिपिआर बनाएको थियो । पहिलो चरणमा सहरी विकासले ८ करोड ६२ लाखका संरचनाहरू निर्माण गर्ने भएको हो । उद्यानमा पाँच सय युवाले सुरुवात व्यवसाय (स्र्टाट अफ बिजिनेस) गरेर आय आर्जन गर्न सक्ने बनाउने धनगढी उपमहानगरपालिकाको योजना छ । 

डिभिजनल इन्जिनियर दिजराज भट्टले सहरी विकासले पहिलो चरणमा उद्यानमा संरचना निर्माणका लागि ठेक्का गरेको बताए ।