Skip to main content

विद्युतका तार पहिरोसँगै सेतीमा बगे, बझाङका अधिकांश बस्तीमा अन्धकार

Submitted by editor on
ईबिगुल संवाददाता
नेपाल विद्युत

बझाङ : नेपाल विद्युत प्राधिकरणको डडेल्धुरा—बझाङ जोड्ने राष्ट्रिय प्रसारण लाइन अन्तर्गत तमैल अगाडीको सुख्खा पहिरो खस्ने ठाउँमा विद्युत तार च्यातिदा बिहीबार साँझदेखि बझाङका अधिकांश भुभाग अन्धकार भएका छन् । 

बिहीबार वेलुका तमैल नजिकै रहेको भीर माथिबाट सुख्खा पहिरो खसिरहने ठाउँमा पानी परेपछि थप पहिरो खसेर ढुंगा लाग्दा विद्युतका तार च्यातिएका हुन् । च्यातिएका तार पहिरोसँगै सेती पुगेको वितरण केन्द्र बझाङले जनाएको छ । बिहीबार पहिरो निरन्तर खसेकाले विद्युत सुचारु गर्न नसकिएको वितरण केन्द्र बझाङका प्रमुख सुजन खड्काले बताए । 

उनका अनुसार यसअघि पटकपटक अवरुद्ध भएको त्यो ठाउँबाट अन्त सार्ने सम्भावना खोजी गरे पनि सेती पारी तर्फ पनि सम्भव देखिएको छैन । अवरुद्ध विद्युत आज सुचारु गरिने वितरण केन्द्र बझाङले जनाएको छ । विद्युतका कर्मचारी बिहानैदेखि फिल्डमा खटिसकिएको तर कैलाली, डडेल्धुरा पनि विद्युत नभएकाले बझाङ त्यहाँ आपुर्ति भएपछि मात्रै बझाङ बिद्युत सुचारु हुने वितरण केन्द्र प्रमुख खड्काको भनाई छ । 

बिहाबार बिहान तमैल नजिकै भीर र जालेवगरमा पहिरो जाँदा बनेको जयपृथ्वी राजमार्ग दिउँसो खुलाइए पनि बेलुका पुनः पहिरो जाँदा आवागमन ठप्प बनेको छ । जयपृथ्वी राजमार्ग अबरुद्द हुँदा बिहीबार साँझदेखि बझाङमा यातायात आवागमन ठप्प भएको छ । अबिरल वर्षाका कारण पहिरो लगातार झरिरहेकाले आवतजावत गर्न समेत समस्या भएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार लगातारको वर्षाका कारण जेसिबी चालकसँग सम्पर्क हुन सकिरहेको छैन । यस बर्खायाम सुरु भएसँगै जयपृथ्वी राजमार्ग ४५ पटक भन्दा बढी पटक अवरुद्ध भइसेको छ ।