Skip to main content

बजेटमाथि सत्ता पक्षकै चरम विरोध, भन्छन ‘खुट्टा छोएर पनि बजेट परेन’

Submitted by editor on
शिवराज भट्ट
चक्र बहादुर मल्ल

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले भदौको ३१ गते ल्याएको बजेटमाथि शनिबारदेखि छलफल सुरु भएको छ । तर छलफलमा प्रतिपक्षका मात्रै होईन, प्रतिपक्षभन्दा पनि सत्ता पक्षका सांसदहरुले असन्तुष्टि पोखेका छन ।

नेकपा एमालेका सांसद चक्र बहादुर मल्लले त मन्त्रीको खट्टुा छुँदा पनि बजेट नपरेको बताए । ‘हामी निर्वाचन क्षेत्रका जनतालाई विकासका योजना ल्याउने भनेर भोट मागेका हुन्छौं, उनीहरु आसमा बसेका हुन्छन । मैले बजेटका लागि मन्त्रीलाई अनुरोध मात्रै होईन, खुट्टा समातेको छु’ मल्लले आक्रोस पोखे ।

उनले यसपालीको बजेटमा आफ्नैहरुले धोका दिएको बताए । ‘हामीहरु आफ्नै गोरुद्वारा मारिएका छौं’ उनले भने । ‘प्रदेश सरकार सुकिलाको पक्षमा लाग्यो ।’ उनले ४ बुँदे र २५ बुँदे आचार संहीतामा टेकेर आफुहरुले योजना पठाएको तर बजेट हेर्दा त्यो लागुनभएको गुनासो गरे ।

नेपाली काँग्रेसका प्रमुख सचेतक विक्रम सिह धामीले आफ्नै  पार्टीका नेतृत्वको सरकार र आफ्नै पार्टीका आर्थिक मामिला मन्त्री भएर पनि बजेटमा सन्तुलन नभएको गुनासो गरे । ‘आफ्नो निर्वाचन क्षेत्रमा बजेट हाल्न सकेन भनेर मेरो पार्टीको जिल्ला समितिले मलाई दार्चुला प्रवेशमा  प्रतिवन्ध लगाएको छ । पार्टी पदाधीकारीहरुले मलाई दार्चुला प्रदेशमा लगाएको प्रतिबन्धको निर्णय मेरो मोबाईलमा पठाएका छन’ धामीले भने ।

उनले आर्थिक मामिला मन्त्रालयको कम्प्युटर ईन्ट्रीको काम मन्त्रीको नियन्त्रण बाहिर गएको आरो समेत लगाए । ‘मैले मन्त्रीसँग छलफल गरे । मन्त्रीलाई भने तर योजना ईन्ट्री गर्ने संयन्त्र उनको नियन्त्रण बाहिर रहेको पाए । यस्तो अवस्था कहिलेसम्म रहिरहने हो ? यस्तै भयो भने सांसद मन्त्रीको के काम ?’ प्रमुख सचेतक धामीले प्रश्न गरे ।

उनले बजेट आकारको २० प्रतिसत भन्दा बढी योजना पुरानै बजेटमा भएका योजना ईन्ट्री भएको दाबी गरे । ‘२० प्रतिसत भन्दा बढी योजना पुरानै बजेटका ईन्ट्री भएका छन । यो अवस्थाबाट निस्कनका लागि संसदमा छलफल आवश्यक भईसक्यो’ धामीले भने । उनले सांसद मन्त्रीहरु सचेत भएनन भने यो परम्परा निरन्तर जाने तर्फ सचेत गराए ।

बजेटमाथिको छलफलका क्रममा एमालेकी प्रदेश सभा सदस्य जानकी ऐर बमले मुख्यमन्त्रीले मिठो गरि बोलेका कुरा लागु नगरेको आरोप लगाईन । भनिन, ‘मुख्यमन्त्री ज्यू मिठो गरि बोल्नुहुन्छ । तर अति आवश्यक कुराहरु छुटेका छन । गाउँका लागि साना योजना पनि अपरिहार्य हुन्छन, तर ती सबै छुटेका छन । बजेटको समानुपातिक बाँडफाँड भएन’ उनले भनिन ।

सत्ता गठबन्धनभीत्रकै नागरिक उन्मुक्ति पार्टीको पनि बजेटमाथि विमति देखियो । नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक समेत रहेका खुसीराम डँगौरा थारुले बजेट परिमार्जनको माग गरे । ‘यसपालीको बजेटमा पनि विचौलियाको गन्ध आएको छ । मन्त्रीहरु कम्प्युर अधिकृतले गरेको हो, सचिवले गरेको हो भनेर पन्छिन मिल्छ ?’ खुसीरामले भने ।

उनले नेपालका संविधान, बेदपुराण र बाईबल संसोधन भईसकेको भन्दै बजेटको पिडिएफ पनि संसोधन हुनुपर्ने माग गरे । ‘नेपालका संविधानहरु परिवर्तन भईसके । बेद पुराण र बाईबलमा संसोधन भईसक्यो, तर यो बजेटको पिडिएफ कसरी संसोधन हुन सक्दैन ? ’ खुसीरामले प्रश्न गरे ।

सत्ता पक्षकै चरम असन्तुष्टि देखिएका बेला प्रतिपक्षले पनि बजेटको विरोध गरेका छन । नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य अक्कल रावलले सरकारले सांसदहरुलाई ढाँटेको आरोप लगाए । उनले सरकारले संघसंस्था, ब्यक्तिगत फर्महरु, प्रतिष्ठानहरुमा बजेट नहाल्ने भनेपनि त्यो कार्यान्वयन नभएको आरोप लगाए । उनले बजेटको भाग २ नेपालको संविधान र नेपालका कानून विपरित आएको आरोप लगाए ।

प्रतिपक्षमै रहेको राप्रपाकी सांसद खीमा देबी विष्टले त सरकार चोर आएको आरोप लगाउन भ्याईन । ‘राजनीति भनेको समाजसेवा हो भन्ने थाहा पाएको थिए । तर  राजनीति भनेको पेशा रहेछ, घुस खाएर योजना बेच्ने रहेछ, कमिशनमा योजना बेच्ने रहेछ, भन्न मिल्छ की मिल्दैन, प्रदेश सरकार र प्रदेशका जनप्रतिनिधि भनेका चोर रहेछन’ विष्टले भनिन ।

विष्टले बोल्दा बोल्दै एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले उनको चोर सब्द प्रति नियमापत्ती जनाउदै उक्त चोर सब्द संसद सचिवालयको रेकर्डबाट हटाउन माग गरे । सभामुख भीम बहादुर भण्डारीले पनि उक्त सब्दमाथि छानविन गरेर आवश्यक परे संसदको रेकर्डबाट हटाउने आश्वासन दिएका थिए ।

स्वतन्त्र सांसद डाक्टर ताराप्रसाद जोशीले आर्थिक मामिला मन्त्रीको बजेटमा केही नचलेको आरोप लगाए । ‘मैले आर्थिक मामिला मन्त्रीलाई बजेटको सन्तुलनका बारेमा सुझाव दिएको थिए, उहाँले म दबाबमा छुभन्नुभयो । तर बजेटले प्रदेशलाई दिशा दिएन’ उनले भने ।