धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाको तर्फबाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेश सरकारबाट बाहिरिने बताएको छ ।
नाउपाकी अध्यक्ष रञ्जीता श्रेष्ठले भोली (शुक्रबार) संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बताईन । ‘सुदूरपश्चिममा मुख्यमन्त्रीले हाम्रो पार्टीका मन्त्रीलाई हटाउनु भयो, ठीकै छ । अब हामी पनि संघ र प्रदेश सरकारहरुबाट बहिरिन्छौं । हामीले भर्खरै पार्टीमा छलफल सक्यौं । भोलि नै समर्थन फिर्ता लिन्छौं’ अध्यक्ष श्रेष्ठले भनिन ।
पार्टीका संरक्षक रेशम चौधरीले पनि सरकारबाट समर्थन फिर्ता लिने बताए । सुदूरपश्चिममा मन्त्री चौधरीले राजीनामा गर्न दिइएको निर्देशन अवज्ञा गरेपछि मुख्यमन्त्रीले उनलाई बर्खास्त गरेका हुन् । केही दिनअघि राजीनामा दिएर बाहिरिन मुख्यमन्त्री कमल बहादुर शाहले अनुरोध गरेपनि मन्त्री चौधरीले ‘सक्ने भए आफूलाई बर्खास्त गरेर देखाउन’ चुनौती दिएका थिए । नागरिक उन्मुक्ति पार्टीले पनि चौधरीले राजीनामा नगर्ने÷नगराउने निर्णय लिएको थियो ।
बजेट निर्माणका क्रममा मन्त्री चौधरीले वित्तीय अनुशासन कायम नगरेको, खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिमा कार्यकारी निर्देशक नियुक्त गर्दा कुनै जानकारी नगरेको लगायतका कामबाट उनीसँग असन्तुष्ट भएर राजीनामा मागिएको थियो ।
सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार छ । कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका ७ सांसद छन् । नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा भने पर्ने छैनन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ ।
यसैबीच बर्खास्त भका मन्त्री रामेश्वर चौधरीले भ्रष्टाचार गरेको भन्दै अख्तियारले छानबिन थालेको खुलेको छ । चौधरीले अघिल्लो कार्यकालमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्दा कृषकहरूलाई अनुदानमा वितरण गरिने पावर टिलर योजनामार्फत कैलाली र कञ्चनपुरमा करोडौँ रुपैयाँ कमिसन उठाएको आरोप लागेको छ ।
उक्त रकम नागरिक उन्मुक्ति पार्टीकी नेतृ सुनिता चौधरी र चौधरीका स्वकीय सचिव नवीन थापामार्फत संकलन गरिएको अख्तियारको दाबी छ ।