Skip to main content

११ महिनापछि खुल्यो बीमाको बलात्कारपछि हत्या भएको रहस्य

Submitted by editor on
ईबिगुल संवाददाता
२ जनालाई सार्वजनिक गरेको छ

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–६ को सरस्वती सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी बिमा थापामगरको जबरजस्ती करणीपछि हत्या भएको खुलेको छ । डडेल्धुराको अमगरगढी नगरपालिका–२ की थापामगरको सामुदायिक वनमा २०८० मङ्सिर ६ गते शव फेला परेको थियो ।

उनको बलात्कारपछि हत्या भएको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीले २ जनालाई सार्वजनिक गरेको छ । कैलाली प्रहरीले घटनाको ११ महिनापछि मुख्य अभियुक्त धनगढी उपमहानगरपालिका–५ का ३० वर्षीय जनक देउवा र कृष्णबहादुर चौधरीलाई आईतबार सार्वजनिक गरेको छ । धनगढी उपमहानगरपालिका–४ मा बसोबास गर्दै आएकी ३१ वर्षीया थापामगरको २०८० कात्तिक २९ गते राति जबरजस्ती करणीपछि हत्या भएको खुलेको हो । 

जनक देउवाको घरमा २०८० कात्तिक २९ गते बुधवार राति मुस्कान भन्ने बिमा थापा मगरलाई बोलाएको र धनगढी उपमहानगरपालिका–५ का २८ वर्षीय संजीव चौधरी र जनक देउवाले लागुऔषध सेवन गर्दै पालैपालो शारीरिक सम्बन्ध राखेको खुलेको छ ।

प्रहरीको अनुसन्धान अनुसार उनीहरूको कुटपिटबाट थापामगर बेहोस भएकी थिइन । बेहोस थापा मगरलाई देउवा र चौधरीले स्कुटरमा राखेर सरस्वती सामुदायिक वनमा फालेका थिए । उनीहरूले लागुऔषध सेवन गरेर मृत्यु भएको बनाउन लागुलागुऔषधका पाकेटसमेत शव फालेको स्थानमा छोडेको अनुसन्धानबाट खुलेको छ ।

सामुदायिक वनमा शव फेला परेकी मगरको फोन नभेटिएपछि घटना मोडिएको थियो । उनीसँग फोन रहेको साथीमार्फत प्रहरीमा सूचना आएको हो। लामो समयसम्म प्रयोगमा नआएको उक्त फोनमा २ वटा सिम पछि मात्र प्रयोग भएपछि प्रहरीले घटनामा नयाँ अनुसन्धान थालेको थियो। प्रहरीले फोनको आइएमइआइ विवरणको अनुसन्धानबाट धनगढी–५ को कृष्णबहादुर चौधरीको नाममा रहेका सिमहरू उक्त फोनमा प्रयोग हुँदै आएको पाइएको थियो। 

संजीव चौधरीकी श्रीमतीसँग फोन फेला परेको प्रहरीले बताएको छ। संजीव भारत फरार भएका थिए। तर, उनी २०८१ असोज ५ गते त्रिनगर सीमा क्षेत्रबाट पक्राउ परेका छन्। श्रीमतीलाई समेत भारत लैजान भनि आएका चौधरीलाई कैलाली प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरेको हो। उनी पक्राउ परेपछि मुख्य योजनाकार र घटनामा मुख्य आरोपित देउवाको विषयमा खुलेको थियो।

देउवा लाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बताए। भारतीय प्रहरीको सहयोगमा चौधरीलाई  नियन्त्रणमा िलएपछि देउवा घरबाट पक्राउ परेका हुन्। उनीहरूलाई आइतवार कैलाली प्रहरीले सार्वजनिक गरेको छ। उनीहरूको विरुद्धमा कर्तव्य ज्यान शीर्षकमा मुद्दा चलाउने कैलाली प्रहरीले बताएको छ। देउवा, चौधरी र मगर तीनै जना लागुऔषध सेवनकर्ता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।