Skip to main content

झ्याप्ले खोलामै अस्तायो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

Submitted by editor on
अन्तिम वर्षको पढाइ सकेर डोल्पा जिल्लामा ओजेटी गरेका नवीन त्यही रिपोर्ट बुझाउन क्याम्पस गएका थिए ।
प्रताप ओली
नवीन सिंह

बझाङ : नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटर मात्रैको दूरीमा रहेको झ्याप्ले खोलानजिक आइपुग्दा शुक्रबार राति धेरै यात्रुले राजधानी नै प्रवेश गरिसकेको सोचेका थिए । झ्याप्ले खोला कटेलगत्तै काठमाडौं सुरु हुन्छ ।

नागढुंगा सुरुङ पार गरेर काठमाडौंतर्फ अगाडि बढ्दा तीन घुम्ती पार गरेपछिको चौथो घुम्ती हो, झ्याप्ले खोला । त्यही झ्याप्ले खोलाको पहिरोभन्दा करिब सय मिटर तल अर्कै गाडीमा रहेका एक यात्रुका अनुसार त्यो घटना कहालीलाग्दो थियो । 

निरन्तरको झरीका बीचमा एक पटक ठूलो गर्जनसहित पहिरो खसेपछि त्यताबाट हारगुहारको आवाज पनि सुनिएको थियो । त्यही पहिरोले पुरेर लिएको थियो बझाङको जयपृथ्वी नगरपालिका–१ चिउरीका नरेन्द्र बहादुर सिंहका जेठा छोरा नवीन सिंहको ज्यान । उनी कलिलै उमेरमा अस्ताउन पुगे । चितवनस्थित रामपुर कृषि क्याम्पसमा कृषि विज्ञानमा स्नातक पढिरहेका उनको सपना कृषि विज्ञ बन्ने थियो । 

अन्तिम वर्षको पढाइ सकेर डोल्पा जिल्लामा ओजेटी गरेका नवीन त्यही रिपोर्ट बुझाउन क्याम्पस गएका थिए । नवीनका आफन्त सुन्दर सिंहका अनुसार शनिबार राती  उनी चढेको गाडी पहिरोमा पुरिएको हो । पढाइमा जेहेन्दार नवीन पूर्ण छात्रवृत्तिमा रामपुर क्याम्पसमा पढिरहेका थिए ।

मिलनसार र मिजासिलो व्यवहारले गाउँमा पनि सबैको प्यारो नवीनको मृत्युको खबरले वडा नै शोकमग्न भएको छ । बीएस्सीको अध्ययन सकिएकोले दुई वर्ष विदेश गएर पढ्ने र भविष्यमा कृषि विज्ञ बन्ने सपना बुनेका नवीनको मृत्युले परिवारमा मात्रै नभएर सिंगै गाउँलाई क्षति पुगेको कैलाशपति आधारभूत विद्यालयका शिक्षक गोपाल विष्टले बताए ।

२५ वर्षीय नवीनको शव बुझ्न उनका बुवा नरेन्द्र सिंहलगायत आफन्तहरु काठमाडौं पुगेका छन् । बुबा नरेन्द्र सिंह घचाया माविका शिक्षक हुन् भने नेपाल शिक्षक महासंघ मष्टा गाउँपालिकाका संस्थापक अध्यक्ष पनि हुन् ।