बझाङ : नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटर मात्रैको दूरीमा रहेको झ्याप्ले खोलानजिक आइपुग्दा शुक्रबार राति धेरै यात्रुले राजधानी नै प्रवेश गरिसकेको सोचेका थिए । झ्याप्ले खोला कटेलगत्तै काठमाडौं सुरु हुन्छ ।
नागढुंगा सुरुङ पार गरेर काठमाडौंतर्फ अगाडि बढ्दा तीन घुम्ती पार गरेपछिको चौथो घुम्ती हो, झ्याप्ले खोला । त्यही झ्याप्ले खोलाको पहिरोभन्दा करिब सय मिटर तल अर्कै गाडीमा रहेका एक यात्रुका अनुसार त्यो घटना कहालीलाग्दो थियो ।
निरन्तरको झरीका बीचमा एक पटक ठूलो गर्जनसहित पहिरो खसेपछि त्यताबाट हारगुहारको आवाज पनि सुनिएको थियो । त्यही पहिरोले पुरेर लिएको थियो बझाङको जयपृथ्वी नगरपालिका–१ चिउरीका नरेन्द्र बहादुर सिंहका जेठा छोरा नवीन सिंहको ज्यान । उनी कलिलै उमेरमा अस्ताउन पुगे । चितवनस्थित रामपुर कृषि क्याम्पसमा कृषि विज्ञानमा स्नातक पढिरहेका उनको सपना कृषि विज्ञ बन्ने थियो ।
अन्तिम वर्षको पढाइ सकेर डोल्पा जिल्लामा ओजेटी गरेका नवीन त्यही रिपोर्ट बुझाउन क्याम्पस गएका थिए । नवीनका आफन्त सुन्दर सिंहका अनुसार शनिबार राती उनी चढेको गाडी पहिरोमा पुरिएको हो । पढाइमा जेहेन्दार नवीन पूर्ण छात्रवृत्तिमा रामपुर क्याम्पसमा पढिरहेका थिए ।
मिलनसार र मिजासिलो व्यवहारले गाउँमा पनि सबैको प्यारो नवीनको मृत्युको खबरले वडा नै शोकमग्न भएको छ । बीएस्सीको अध्ययन सकिएकोले दुई वर्ष विदेश गएर पढ्ने र भविष्यमा कृषि विज्ञ बन्ने सपना बुनेका नवीनको मृत्युले परिवारमा मात्रै नभएर सिंगै गाउँलाई क्षति पुगेको कैलाशपति आधारभूत विद्यालयका शिक्षक गोपाल विष्टले बताए ।
२५ वर्षीय नवीनको शव बुझ्न उनका बुवा नरेन्द्र सिंहलगायत आफन्तहरु काठमाडौं पुगेका छन् । बुबा नरेन्द्र सिंह घचाया माविका शिक्षक हुन् भने नेपाल शिक्षक महासंघ मष्टा गाउँपालिकाका संस्थापक अध्यक्ष पनि हुन् ।