Skip to main content

सामाजिक विकासमन्त्री खडका भन्छन, ‘सेती प्रादेशीक अस्पतालमा सुधार ल्याउछु’

Submitted by editor on
ईबिगुल संवाददाता
मेखराज खडका

धनगढी : सामाजिक विकासमन्त्री मेखराज खडकाले सुदूरपश्चिमको रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशीक अस्पतालको उपचार सेवामा सुधार ल्याउने बताएका छन । पत्रकारहरुसँग दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री खडकाले यस्तो बताएका हुन ।

‘सेती प्रादेशीक अस्पतालमा विरामीको अत्यधीक चाप छ । नयाँ भवन निर्माणमा ठेकेदारले गरेको लापरवाहीले उपचार सेवा प्रभावित भएको छ । शहरी विकास तथा भौतिक पुर्वाधार मन्त्री प्रकाशमान सिहलाई उक्त भवन निर्माणका लागि ठेकेदारलाई ताकेता गरिदिन भन्दै ज्ञापन पनि बुझाई सकेको छु’ मन्त्री खडकाले भने ।

उनले यसवर्षको बजेटमा स्वास्थ्यमा सबैभन्दा बढी बजेट रहेको दाबी गरे । ‘बजेटमा सोचे अनुसारको योजनाहरु राख्न नसकेपनि, यसवर्ष पोषण र स्वास्थ्यमा सबैभन्दा बढी बजेट राखेको छु । एकपटक बजेट बनिसकेकाले प्रतिस्थापन बजेटमा धेरै कुरा परिवर्तन गर्न सकिएन, तर पनि स्वास्थ्यको क्षेत्रमा यथोचित बजेट छ’ उनले भने ।

पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिदै मन्त्री खडकाले एमविविएसको छात्रबृत्तीका लागि बजेट ढिला आएकाले केही विलम्ब भएको तर कार्यविधि संसोधन गरेर पनि सुदूरपश्चिमका जेहेन्दार विद्यार्थीले छात्रबृत्ती पाईने बताए । ‘चिकित्सा सेवा आयोगको तालिका भन्दा हामी केही ढिला भएका छौं, तर कार्यविधिमा संसोधन गरेर पनि छात्रबृत्ती दिईन्छ’ उनले भने ।

मन्त्री खडकाले आईतबारको क्याबिनेट बैठकमा छात्रबृत्ती सम्बन्धी कार्यविधि संसोधनको प्रस्ताव लगिरहेको बताए ।