Skip to main content

चार जना आन्दोलनकारी पक्राउ, प्रहरीले यातना दिएको आरोप

Submitted by editor on
शिवराज भट्ट
गेटा मेडिकल विश्वविद्यालयको माग

धनगढीः गेटा मेडिकल विश्वविद्यालयको मागगर्दै प्रदर्शन गरिरहेका चार जना आन्दोलनकारी पक्राउ परेका छन । मंगलबार दिउसो गेटाबाट गोदावरी ५ का दिपक बोहरा र भीम बोहरालाई प्रहरीले पक्राउ गरेको थियो ।


तर मंगलबार साँझ ईलाका प्रहरी कार्यालय अत्तरियाको बाहिर सडकमा नाराबाजी गरिरहेका थप दुई जना गोदावरी ५ का भीम बहादुर बोहरा र गौतम रोकायालाई प्रहरीले कुटपिट गर्दै पक्राउ गरेको गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डेले जानकारी दिए ।


‘मंगलबार दिउसो २ जना साथीहरुलाई पनि कुटपिट गर्दै पक्राउ गरि जिप्रका कैलाली लगिएको छ । त्यसपछि शान्तिपुर्ण रुपमा नाराबाजी गरिरहेका थप दुई जनालाई पनि प्रहरीले कुटपिट गर्दै पक्राउ गरेको छ’ पाण्डेले भने । प्रहरीले सोमबार देखि आन्दोलनकारीहरुलाई पक्राउ गर्ने नीति बनाएको छ ।


मंगलबार विहान सरकारी गाडी बन्द गर्नेक्रममा बाँके जिल्ला अदालतको सरकारी गाडीको सिसा फुटाएपछि प्रहरीले आन्लोलनकारीलाई पक्राउ गर्ने नीति लिएको छ । प्रहरीले क्षेत्रीय बन निर्देशनालय सुदूरपश्चिम र जिल्ला अस्पताल बाँकेको गाडी तोडफोड गरिएको भन्दै ७ जनाका विरुद्ध उजुरी आएको जनाएको छ ।  


दिउसो देखि आन्दोलनका संयोजक लोकराज पाण्डे, सहसंयोजक आनन्द भट्ट र सचिव धर्मसिह कुवरका घरमा प्रहरी परिचालित गरिएका छन । उनीहरु सोमबार दिनभरी प्रहरीको सम्पर्कबाहिर बसेका छन । दिउसो पक्राउ परेका दिपक बोहरालाई जिप्रका लगेर कुटपिट गरिएको र उनलाई त्यसपछि सेती अस्पतालमा भर्ना गरिएको आन्दोलनका संयोजक लोकराज पाण्डेले बताए ।


‘दिपक बोहरालाई जिप्रकाभीत्र कुटपिट गरिएको छ । उहाँको घाँटीका चोट लागेको छ । सेती अस्पतालबाट प्रहरीले फोन गरेर उपचार गराउन भनेर आफन्तलाई खबर गरेका छन’ पाण्डेले भने । प्रहरीले पक्राउ गरेपछि हिरासतभीत्र कुटपिट गरेको घटनाको राष्ट्रिय मानवअधिकार आयोग, ईन्सेक र पत्रकारहरुले अनुगमन गरिदिन आग्रह समेत गरेका छन ।


‘कुनै अपराध गरेको छ भने त्यसमा कानूनी कारवाही होला तर प्रहरी हिरासतमा लगेर कुटपिट गर्ने काम भएको छ । संघर्ष समिति त्यसको निन्दा गर्दै छानविनको माग गर्दछ’ संयोजक पाण्डेले भने । 
तर ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक गणेश बरालले भने पक्राउ पछि कसैलाई कुटपिट नगरिएको प्रतिक्रिया दिए । उनले दिपक बोहरा र भीम बोहरालाई सरकारी गाडी तोडफाडको जाहेरीका आधारमा सोधपुछका लागि पक्राउ गरिएको बताए । 


साँझ पक्राउ गरिएका भीम बोहरा र गौतम रोकायाले प्रहरीसँग ज्यादती गरेकाले पक्राउ गरिएको बताए । ‘दुबै जनाले मादक पदार्थ सेवन गरेका थिए, चेकजाँच गर्दा मापसे देखिएको छ । उनीहरुलाई केही प्रकृया मिलाएर मंगलबार छोडन सकिन्छ’ डिएपी बराललले भने ।