Skip to main content

जेनजी आन्दोलनमा आगजानी र तोडफोडमा ठूला भनिएका राजनीतिक दलका कार्यकर्ता नै संलग्ता

Submitted by editor on
ईबिगुल संवाददाता
dalka

धनगढी : जेनजी समुहको आन्दोलनमा व्यापक घुसपैठ भएको खुलेको छ । भदौ २४ गते भएको जेनजी समुहको आन्दोलनमा कञ्चनपुर र धनगढीमा घुसपैठ भएको जनाएको छ । 

घुसपैठकै कारण धनगढीमा आन्दोलनको क्रममा सार्वजनिक सम्पत्तिमा व्यापक क्षति भएका विवरण सार्वजनिक भएका छन् । संघ र प्रदेश मातहतका कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएको धनगढीमा सबै राजनीतिक दलका पार्टी कार्यालयसमेत जलाएका छन् ।
धनगढी–१ मा रहेको नेकपा एमालेको जिल्ला र प्रदेश कार्यालयमा तोडफोड गर्ने समूहको अगुवाइ भने काँग्रेस केन्द्रीय सदस्य एवं धनगढीका पूर्व नगर प्रमुख नृपबहादुर वडका छोरा निखिल ओडले गरेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा नेता वडका छोरा निखिललाई एमाले पार्टी कार्यालय भित्र प्रवेश गरेर भाटा प्रयोग गरि कुर्सी भाचिरहेको देख्न सकीन्छ ।

धनगढीमा काँग्रेस नेतृ डाक्टर आर्जु राणा देउवाको घरमा आगजनी गरेपछि लगत्तै पशुपति टोलमा रहेको एमाले पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो । निखिल वड उक्त तोडफोड र आगजनीमा सहभागी भएको भिडियो सार्वजनिक भएको हो । एमाले पार्टी कार्यालयमा तोडफोड गर्न लागेको भिडियो निखिलले टिकटकमा राखेका थिए । उक्त भिडियो हटाइएको छ ।

जेनजी आन्दोलनको प्रतिकार गर्ने भन्दै धनगढीमा काँग्रेस धनगढी, गोदावरी र चुरे गाउँ कार्यसमितिको बैठकमा समेत पूर्व मेयरका छोराको आगजनी र तोडफोडमा प्रत्यक्ष संलग्नता रहेको चर्चा चलेको बैठकमा सहभागी एक जना नेताले बताएका छन् । पूर्व मेयर वडले जेनजीहरूको प्रतिकार गर्नुपर्ने मत राखेपछि अन्य नेताहरूले पार्टी कार्यालय जलाउनमा उनकै छोराको समेत संलग्नता रहेको बताएका थिए ।

यस्तै कञ्चनपुरको महेन्द्रनगरमा काँग्रेस निकट तरुण दलका नेताको अगुवाइमा आगजनी र तोडफोड भएको पाइएको छ । दोधारा चाँदनकी नगरपालिकाको तरुण दलको सभापतिसमेत रहेका सन्दिप बस्नेतको आगजनी र तोडफोडमा अग्रसरता रहेको पुष्टि भएको हो । बस्नेत आफैंले महेन्द्रनगरमा नेकपा एमालेका नेताहरूको घरमा आगजनी र तोडफोड गरेको सार्वजनिक रुपमा स्वीकार गरेको भिडियो अहिले भाइरल भएको छ ।

टिकटकमा राखिएको २२ सेकेन्डको भिडियोमा काँग्रेस नेता बस्नेतले नेपाली काँग्रेसको पार्टी कार्यालय, एमालेको पार्टी कार्यालय, मेयर पदम बोगटीको घर, पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलको घर, प्रदेश सभा सदस्य प्रकाश रावलको घर तथा पूर्व नगर प्रमुख सुरेन्द्र बिष्टको घर ध्वस्त पारेको बताएका छन् । उनले नेताहरूको घर छानीछानी खोज्ने अभिव्यक्ति दिएको भिडियोमा सुन्न सकिन्छ । कञ्चनपुर प्रहरीले पनि बस्नेतले बोलेको भिडियो प्राप्त भएको जनाएको छ ।