धनगढी : कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) प्रशासन कार्यालयमा लगाइएको ताला खुलेको छ । स्थानीयको माग बमोजिम तत्काल डीडीसी नसार्ने आशयको पत्र डीडीसीको केन्द्रीय कार्यालयले पठाएपछि ताला मंगलबार खुलेको हो । डीडीसी धनगढी सार्ने तयारी पछि स्थानीयले विरोध गर्दै जेठ ८ गते डीडीसी अत्तरियामा तालाबन्दी गरेका थिए । लगभग चार महिनापछि ताला खुलेको छ । यद्यपि तालाबन्दीका बिच डीडीसीको प्रशासनिक कार्यालय धनगढी सारिएको थियो ।
भदौ २९ गते डीडीसीको केन्द्रीय कार्यालयका निमित्त महाप्रबन्धक सञ्जीव झाले डीडीसी अत्तरियालाई पठाएको पत्रमा आयोजनालाई धनगढीको कनेरीमा स्थानान्तरण गर्ने विषयलाई लिएर तालाबन्दी भएकाले हाललाई प्रशासनिक, आर्थिक र उत्पादन सम्बन्धी सम्पूर्ण काम यथास्थानबाट गर्न भनिएको छ । उक्त पत्रका गोदावरी नगरपालिकालाई बोधार्थ राखिएको छ ।
डीडीसी केन्द्रीय कार्यालयको पत्राचार पछि मंगलबार बिहान बसेको सर्वदलीय सर्वपक्षीय बैठकले तालाबन्दी खोल्ने निर्णय गरिएको छ । बैठकमा गोदावरी नगर प्रमुख वीरेन्द्र भट्ट, डीडीसीका प्रबन्धक निरञ्जन भट्टराई, डीडीसी संघर्ष समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो । सर्वदलीय बैठकमा डीडीसीको ताला खोल्ने र दसैँ भित्र किसानको दूधको भुक्तानी गर्ने, गोदावरी नगरपालिकाको प्रतिबद्धता अनुसार डीडीसीको दिगो व्यवस्थापनको लागि जग्गा उपलब्ध गराउने निर्णय भएको संघर्ष समितिका संयोजक लोक राज पाण्डेले बताए ।
हाल डीडीसी अत्तरियामा रहेको कृषि उपज थोक बजारमा भाडाको घरमा सञ्चालनमा रहेको छ । जहाँ डीडीसीको स्तरोन्नति गर्न ठाउँ अभाव भएको भन्दै नयाँ ठाउँमा सार्न लागिएको डीडीसीले बताउँदै आएको छ । स्थानीयले भने डीडीसीका लागि गोदावरीमै जग्गा उपलब्ध गराएर गोदावरी बाहिर लग्न नहुने माग गर्दै आएका छन् । यसबिच गोदावरी नगरपालिकाले पनि डीडीसीलाई जग्गा उपलब्ध गराउनको लागि गोदावरीकै ३ ठाउँमा जग्गा दिन सकिने प्रतिवेदन डीडीसीलाई बुझाएको थियो । उक्त जग्गा मध्ये डीडीसीलाई एक ठाउँको जग्गा छनोट गर्न भनिएको भए पनि हाल सम्म उक्त प्रतिवेदनको भने जवाफ नआएको गोदावरी नगरपालिकाका नगरप्रमुख भट्टले बताए ।