Skip to main content

डडेल्धुरामा प्रहरीमाथि कुटपिट गर्ने ५ जना विरुद्ध सार्वजनिक अपराध मुद्धा दर्ता

Submitted by editor on
ईबिगुल संवाददाता
जिल्ला प्रहरी कार्यालय डडेल्धुरा

डडेल्धुरा : डडेल्धुरामा प्रहरीमाथि कुटपिट गर्ने पाँच जनालाई मुद्धा चलाईएको छ । ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दार थानेश्वरप्रकाश पन्तमाथि कुटपिटमा संलग्न पाँच जना विरुद्ध मुद्दा दायर गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का २२ वर्षीय रोहित सार्कीले चलाएको भारतीय गाडीलाई अमरगढी नगरपालिका–५ बागबजार पोष्टमा चेकजाँचका लागि रोकेका बेला गाडीमा सवार अजयमेरु–४ का २८ वर्षीय बिनोद बैज लगायत ५ जनाले सहायक प्रहरी हवल्दारमाथि कुटपिट गरेका थिए । कुटपिटबाट प्रहरीसहायक हवल्दार पन्तको टाउको पछाडि चोट लागेको छ ।

प्रहरी निरीक्षक बमका अनुसार भारतीय गाडी चालक रोहित सार्की र विनोद बैजलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो । घटनामा संलग्न अन्य तीन जना अजयमेरु–४ चिपुरका २६ वर्षीय पदम चटौतलाई उनकै घरबाट, २३ वर्षीय सुवास बोहरा र २७ वर्षीय जित ऐरलाई अमरगढी–५ बागबजारबाट पक्राउ गरि मुद्धा चलाईएको छ ।

मंगलवार बेलुकी साढे ६ बजेको समयमा प्रहरी सहायक हवलदार पन्तले धनगढीबाट डडेलधुरातर्फ आइरहेको जीजे ०५ आरभी ८८४८ भारतीय नम्बर प्लेटको कार चेकजाँचका लागि रोकेका थिए । सोही क्रममा कारमा सवार अजयमेरु गाउँपालिका–४ का २८ वर्षीय विनोद बैजलगायत पाँच जनाले हातपात गरेका थिए । 

पक्राउ परेका पाँचै जना विरुद्ध सार्वजनिक सुरक्षा हित, स्वास्थ्य र नैतिक विरुद्धको अपराधमा मुद्दा चलाएर ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।