धनगढी : स्थानीय तहको उप निर्वाचनमा विहीबारदेखि कर्मचारी खटाईने भएका छन । सुदूरपश्चिममा एउटा गाउपालिका उपाध्यक्ष र ४ ठाउँमा वडाध्यक्षका लागि उप निर्वाचन हुने भएको हो ।
उपनिर्वाचनका लागि चार महिला, तीन जना स्वतन्त्र उम्मेदवार बाँकी विभिन्न राजनीति दलहरुबाट गरी २६ जना चुनावी मैदानमा छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाअध्यक्ष पदका लागि १२ जनाको उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
रिक्त रहेका पाँच पदका लागि हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले बताए । उनले बिहीबार मतपत्रसहितका निर्वाचन सामाग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगाइ सकिएको जानकारी दिए ।
एउटा उपाध्यक्ष र चार वटा वडाध्यक्षका लागि हुने उपनिर्वाचनका लागि १८ वटा मतदान केन्द्र तोकिएको छ । बाजुराको स्वामीकार्तिक गाउँपालिकामा उपाध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ । त्यहाँ ७ हजार ४६० मतदाता छन् भने पाँच मतदान केन्द्र तोकिएको छ ।
यस्तै दार्चुलाको दुहुँ गाउँपालिका–५ मा एक हजार दुई सय ७२ मतदाता छन् भने दुईवटा मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टले बताए । डोटीको पुर्वीचौकी गाउँपालिका–६ मा एक हजार पाँच सय ९३ मतदाता छन् भने तीन मतदान केन्द्र रहेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा पाँच हजार ४३४ मतदाता छन् भने ६ मतदान केन्द्र छन । बझाङको सुर्मा गाउँपालिका–४ मा एक हजार ५५४ मतदाता छन् भने दुई मतादन केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।