Skip to main content

बाजुराका किसानको खेतसम्म पुग्यो एम्बुलेन्स

Submitted by editor on
पदमबहादुर सिंह
कृषि एम्बुलेन्स

बाजुरा ः बाजुराको बडीमालिका नगरपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । बडीमालिका नगरपालिकाले विभिन्न वडाका किसानले उत्पादन गरेका कृषि उपज सुरक्षित रुपमा बजार र उपभोक्तासम्म पु¥याउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको 
हो ।


कृषकका उत्पादनले सही समयमा बजारसम्म पहुँचको अवस्था सिर्जना गर्न नगरपालिकाले कृषि एम्बुलेन्स सेवा संचालन गरेको बडिमालिका नगरपालिकाका प्रमुख अमर खड्काले बताएका छन् । कृषकलाई आत्मनिर्भर बनाउन उनीहरुद्वारा उत्पादित बजारको सरल र सहज पहुँचको आवश्यता रहेको जनाउँदै नगरले कृषक मैत्री कार्यक्रममा जोड दिएको नगर प्रमुख खड्काको भनाइ रहेको छ ।
कृषि एम्बुलेन्स सेवा संचालनमा आएपछि अब कृषकका बारीमै कृषि एम्बुलेन्स पुग्ने छ र कृषकले उत्पादन गरेका तरकारी सङ्कलन तथा बिक्री केन्द्रसम्म ढुवानी गर्नेछ । तरकारी खेती गर्ने कृषकलाई ढुवानी गर्ने साधन नहुँदा धेरै समस्या हुने गरेको थियो, अब उक्त समस्या नहुने भएको हो ।


पालिकाले कृषि एम्बुलेन्स सञ्चालन ल्याएसँगै यहाँका कृषकलाई उत्पादन गरेका कृषि उपजलाई बजारसम्म लैजान सहज हुने भएको छ । पहिलो पटक कृषि एम्बुलेन्स मार्फत बडिमालिका नगरपालिका ३ का कृषकहरुले उत्पादन गरेको तरकारी बाजुराकै अर्को पालिका बुढीनन्दा नगरपालिकामा पठाएको छ । कृषि एम्बुलेन्स सञ्चालन गर्ने बाजुराका नौ स्थानीय तह मध्ये बडीमालिका पहिलो पालिका 
हो ।


३२ लाखको लागतमा गाडी खरिद गरेर किसानको हौसला र उत्पादनमा बृद्धी गर्ने लक्ष्यका साथ कृषि एम्बुलेन्स सञ्चालन गरिएको हो । सडक पहुँच पुगेका सबै टोल र बस्तीमै पुगेर तरकारी सहीतको उत्पादन संकलन गर्ने र बजारसम्म सहुलियत मूल्यमा ढुवानी सहायता दिने उदेश्य पालिकाले राखेको छ । 


बडीमालिकाका १, २, ३, ४ मा राम्रो तरकारी उत्पादन हुने गरेको छ भने वडन नम्बर ६ मा केरा र अन्य फलफूल बाली र ७ मा आलुका लागि पकेट क्षेत्रको रुपमा विकास गरिएको छ ।