Skip to main content

कैलालीमा ५० हजार किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइँदै

Submitted by editor on
ईबिगुल संवाददाता
पाठेघरको मुखको क्यान्सर

धनगढीः कैलालीमा ५० हजारको संख्यामा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइँदै छ । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप लगाइने भएको छ । १० देखि १४ वर्ष उमेर समुहका किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइने भएको हो ।

कैलालीसहित सुदूरपश्चिमका नौवटै जिल्लमा करिब दुई लाख दुई हजार किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइने भएको छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीलाई विद्यालयमै पुगेर खोप लगाइने भएको छ । कैलालीका ७५५ विद्यालयमै पुगेर किशोरीलाई खोप लगाइने छ । स्वास्थ्य कार्यालय कैलालीले १३ वटै स्थानीय तहका स्वास्थ्य शाखाहरूको समन्वयमा खोप अभियान चलाउने भएको छ । खोप अभियान अन्तर्गत  जिल्लाका करिब ५० हजार किशोरीलाई खोप लगाइने कैलालीका स्वास्थ्य कार्यालय प्रमुख रमेश कुँवरले बताए । ‘सरकारले सुदूरपश्चिमका सबै जिल्लामा ह्युमन पिपिलोमा भाइरस विरुद्धको खोप अभियान चलाउने भएको छ । 

माघ २२ देखि फागुन ६ गतेसम्म कैलालीमा खोप अभियान चल्नेछ’ । ‘पछि गएर महिलामा पाठेघरको मुखको क्यान्सर हुन नदिन किशोरीहरूलाई १४ वर्षभित्रै खोप लगाउनु परेको हो ’ , उनले भने । पाठेघरको क्यान्सर हुन नदिन सरकारले खोप अभियान थालेको हो ।’

खोप अभियानमा कक्षा ६ देखि १० मा अध्ययनरत किशोरीलाई विद्यालयमै खोप केन्द्र राखेर सिकोलिन नामक भ्याक्सिन लगाइने छ । भविष्यमा पाठेघरको मुखको क्यान्सर हुन नदिन एक मात्रा खोप लगाइने कैलालीका स्वास्थ्य कार्यालय प्रमुख कुँवरले बताए । उनले पाठेघरको मुखको क्यान्सरबाट सबैभन्दा बढी महिलाको ज्यान जाने भएकाले क्यान्सर नियन्त्रणका लागि विश्व स्वास्थ्य संघले प्रमाणित र सिफारिस गरेको खोप लगाइने बताए । 

स्तन क्यान्सरपछि महिलामा पाठेघरको मुखको क्यान्सरको संक्रमण सबैभन्दा बढी हुने गरेको देखिएको छ । क्यान्सरका कारण हुने मृत्युमा पाठेघरको मुखको क्यान्सरबाट सबैभन्दा बढी महिलाको मृत्युु हुने गरेको सरकारी तथ्याङ्क छ । १५ वर्ष अगाडि नै खोप लगाए पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ । 

भविष्यमा पाठेघरको मुखको क्यान्सर नहोस् भनेर सरकारले खोप अभियान चलाएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख कुँवरले बताए । जिल्लाका १३ वटै स्थानीय तहका ७५५ विद्यालयमै खोप केन्द्र राखेर क्यान्सर विरुद्धको खोप लगाइने छ । विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समुहका किशोरीहरूलाई स्वास्थ्य संस्थामा खोप लगाइने छ । पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न खोपको एक मात्रा मात्रै लगाउनु पर्छ ।