धनगढी : कैलालीको धनगढीमा नाली निर्माणको शिलान्यास गरिएको छ । धनगढीको डुबान समस्या समाधानका लागि ६ लेन सडकमा नाली निर्माण गर्न शिलान्यास गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले नाली निर्माणको शिलान्यास गरेका हुन् । धनगढी उपमहानगरपालिका–२ र ३ क्षेत्रको बर्सातको पानी मोहना नदीमा फाल्न ६ लेन सडकमा २ हजार ८१५ मिटर लामो नाली निर्माण गर्न २०८१ असार २० गते सम्झौता भएको थियो । सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई, धनगढीले चौराहदेखि मोहना नदीसम्म दोहोरो २ मिटर गहिरो र २ मिटर चौडा नाली निर्माणका लागि सम्झौता गरेको सात महिनापछि नाली निर्माणको काम सुरु भएको हो ।
मोहनापुल–अत्तरिया ६ लेन सडकको पूर्वी क्षेत्रमा एक हजार तीन सय ६५ मिटर र पश्चिम क्षेत्रमा एक हजार चार सय ५० मिटर लामो नाली निर्माणको काम सुरु भएको छ । पूर्वमा ११ करोड २० लाख र पश्चिममा १२ करोडको लागतमा नाली निर्माणका लागि इस्टिमेट भएको थियो। तर, सात करोड ४४ लाख ७९ हजार ८९६ रुपैयाँ ८३ पैसा कबोल अंक राखेको एमबी/शुभलक्ष्मी/आदर्श जेभी र ६ करोड पाँच लाख एक हजार ८३२ रुपैयाँ ५२ पैसा कबोल अंक राखेको सनराइज/चन्द्र विकाश/मस्टा जेभी, धनगढीसँग नाली निर्माणका लागि सम्झौता गरिएको सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाईका सूचना अधिकारी पुष्प भट्टले बताए ।
मोहनापुल–अत्तरिया ६ लेन सडकको सर्भिस लेनको बिचबाट बर्सातको पानी मोहनासम्म बग्नका लागि नाली निर्माणको काम थालिएको हो । बस्तीको पानी नालीसम्म ल्याउन विभिन्न ठाउँमा च्याम्बरहरू निर्माण गरिने छ । नाली सफा गर्नका लागिसमेत होलहरू समेत निर्माण गरिने सहरी विकासले बताएको छ । निर्माण कम्पनीहरूले २०८३ वैशाख १६ गते भित्र काम पूरा गर्नुपर्ने छ । २२ महिनामा निर्माण कम्पनीले २ हजार ८ सय १५ मिटर नाली निर्माणको काम सक्नुपर्ने छ । इन्जिनियर पुष्प भट्टले मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणका क्रममा सडक क्षेत्राधिकार खाली भएकाले समस्या नहुने बताए ।
मोहनापुल–अत्तरिया ६ लेन सडकका कारण धनगढीमा डुबान हुँदै आएको भन्दै धनगढी उपमहानगरपालिकाले विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार पारेको थियो। धनगढीको डुबान समस्या समाधानका लागि सडकको दुबै तिर नाली निर्माण गरिने भएको हो ।