धनगढी: कैलालीको गोदावरी नगरपालिकाले धनगढी–अत्तरिया ६ लेन सडकमा तारजाली लगाउन थालेको छ ।
नगरपालिकाले २०८१ मङ्सिर २५ गते सडकको मिडियममा दोहोरो तारजालीका लागि ठेक्का सम्झौता गरेको थियो । गोदावरी नगरपालिकाको क्षेत्रमा पर्ने करिब पाँच किलोमिटर सडकखण्डमा तारजाली लगाउन थालिएको छ । पुल र जेब्रा क्रस क्षेत्र भने खुला राखिनेछ । गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टले नगर क्षेत्रको ६ लेन सडकमा तारजालीको काम थालिएको बताए । उनले भने, ‘नगरपालिकाको बजेटबाट तारजाली लगाउदैछौ । सडक क्षेत्रमा दुर्घटना कम गर्न, हरियाली बनाउन तथा सौदर्यकरणका लागि तारजाली लगाउन लागेका हौ । यो महिना भित्र काम सकिन्छ होला ।’
नगरपालिकाले ८० लाख २३ हजार ४ सय ७४ रुपैयाँमा पाँच किलोमिटर तारजाली लगाउने भएको हो । यो रकममा भ्याटसमेत समावेश गरिएको छ । नगरपालिकाले सुयल कन्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरेको हो । नगरपालिकाले तारजालीका लागि एक करोड १८ लाख ४६ हजार ३५४ रुपैयाँ विनियोजन गरेको थियो । ठेक्काको सम्झौता अनुसार निर्माण कार्य २०८१ माघ २५ गतेसम्म पूरा गर्नुपर्ने छ ।
ठेक्का पाएको सुयल कन्ट्रक्सनले केही दिनअघि नै कार्य सुरु गरिसकेको छ । नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टले तारजाली लगाइसकेपछि वृक्षारोपणको काम गर्ने बताए । उनले सडक सुरक्षा र हरियाली प्रवर्धनको महत्वपूर्ण परियोजनाका रहेको बताए । तारजालीले पैदलयात्री र सवारी साधनबिचको भिडन्त न्यून गर्ने, दुर्घटना रोक्ने तथा सडक सौन्दर्य बढाउने उनको अपेक्षा छ । वृक्षारोपणपछि सडक हराभरा भएर वातावरणीय सन्तुलन कायम राख्ने भट्टको विश्वास छ ।