Skip to main content

सडक फराकिलो बनाउन घर भत्काउने ४३८ घर धनीलाई सम्मान

Submitted by editor on
ईबिगुल संवाददाता
सडक फराकिलो बनाउन घर भत्काउने ४३८ घर धनीलाई सम्मान

धनगढी ः धनगढीको मुख्य नगरक्षेत्रमा पर्ने कैलाली पुल देखि हुलाकी सडकसम्मको २ किलोमिटर सडक चौडा पार्न, आफ्नो घर भत्काएर उपमहानगरलाई सहयोग गर्ने ४३८ जनालाई उपमहानगरले सम्मान गरेको छ ।


धनगढी उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी धनगढी नगरको सडक विस्तारका लागि ३० मिटरको ‘राईट अफ वे’ भीत्र परेको संरचना हटाउने घरधनीहरुलाई फुलमाला र कदरपत्र सहित सम्मानित गरेको हो । प्रदेशका भौतिक पुर्वाधारमन्त्री प्रकाश बहादुर देउवा र उद्योग पर्यटन बन तथा वातावरण मन्त्री रमेश धामीले घरधनीलाई सम्मानित गरे । 


गोपाल हमालले स्वतन्त्रमा मेयर जितेपछि धनगढीको कैलाली पुल देखि क्याम्पस चोकसम्मको सडकको ‘राईट अफ वे’ भीत्र परेको घरहरु भत्काउने अभियान सुरु गरेका थिए । यसअघिमा मेयर नृपबहादुर ओडले ‘राईट अफ वे’ भीत्रका संरचना हटाउन नसकेपछि उनले त्यसको चौडाई घटाएर २४ मिटर गरिदिएका थिए । 


धनगढी प्रदेशको अस्थाई राजधानी पनि हो । यहाँ ९ वटै जिल्लाका सवारीको चाप छ । भिआईपी आएका दिन सडक जाम हुन्छ भने विद्यालय र कार्यालय समयमा पनि सडकमा घण्टौंसम्म जाम लाग्ने गर्दछ । धनगढी चौराहा देखि मनेहरासम्मको झण्डै चार किलोमिटरको मुख्य सडकमा कैलालीपुल देखि क्याम्पस चोकसम्मको सडकका संरचना हटाउने ४३८ जनालाई सम्मानित गरिएको हो ।

 
क्याम्पस चोकदेखि मनेहरा सम्म हुलाकी सडक निर्माण भईसकेको छ । त्यहाँका संरचना यसअघि नै हटाईएका थिए भने कैलाली पुल देखि पश्चिम चौराहासम्मको सडक एशीयाली विकास बैंकको ऋण लगानीमा क्षेत्रीय शहरी विकास आयोजनाले निमार्ण गरिरहेको छ । त्यो सडकको पनि ‘राईट अफ वे’ घटाएर २४ मिटर बनाइएकोमा मेयर हमालले त्यसलाई पनि ३० मिटर बनाई सकेका छन ।


‘सडक नभए समृद्धी नै हुदैन, विकास नै हुदैन । जाम त्यत्तीकै हुने । दुर्घटना पनि भई नै राख्ने । त्यसैले सडक फराकिलो होस भनेर आफैले संरचना भत्काएका हौं’ धनगढी उपमहानगरपालिका वडा नम्बर १ की समा लामाले भनिन । उनले आफ्नो ढाई धुर जग्गा सडकमा गएको बताईन ।


धनगढीकै गोपाल दाहालले पनि उपमहानगरले संरचना भत्काएपछि सम्मान गरेकोमा खुसी ब्यक्त गरे । ‘३० मिटरको सडकले पनि पुग्दैन । हामीले भौतिक संरचना भावि पुस्ताका लागि सोचेर बनाउने हो । यसपाली मेयर सापले चार लेनको सडक बनाउछु, साईकल लेन र पैदलयात्रीका लागि पनि फुटपाथ बनाउनु भन्नु भएको छ । हामीले स्वस्फुर्त रुपमा संरचना हटाएका छौं, त्यो मेयर सापको सक्रियताका कारण देखेर हो’ दाहालले भने ।