धनगढी : बडघर र भलमनसा प्रथाको विकास तथा प्रवद्र्धधन लागि सुदूरपश्चिम प्रदेश सरकारले ऐन निर्माणको प्रक्रिया थालेको छ । प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशमा बडघर र भलमनसा प्रथा संरक्षण तथा विकाससम्बन्धी ऐन निर्माणको प्रक्रिया अगाडि बढाएको हो ।
ऐनको मस्यौदा तर्जुमा गर्नका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मन्त्रालयले सैद्धान्तिक सहमति प्रदान गरेका छन् । मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त भएकाले सुदूरपश्चिम प्रदेश बडघर र भलमनसा प्रथा संरक्षण तथा विकास सम्बन्धी विधेयकको मस्यौदा तर्जुमाका लागि अगाडि बढ्ने जनाइएको छ ।
मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्राप्त गर्न प्रदेश सरकार (मन्त्रिपरिषद्) मा प्रस्ताव पेस गरिने सामाजिक विकास मन्त्रालयका सचिव चक्रपाणि पाण्डेले जानकारी दिनुभएको छ ।
यस प्रदेशको कैलाली र कञ्चनपुरमा सघन बसोबास र बाहुल्य रहेको आदिवासी जनजाति थारू समुदायमा परम्परादेखि बडघर भलमनसा प्रथा प्रचलित छ । यस प्रथालाई संरक्षण, प्रवर्धन र विकास गर्नका लागि छुट्टै ऐन बनाउने प्रदेश सरकारले प्रतिबद्धता जनाउँदै आएको छ ।