धनगढीः धनगढी उपमहानगरपालिका– ९ बङ्ग्राकटनाको दि डिभाइन १०८ एग्रो फार्मका सञ्चालक रोशन साउँद र दशरथ साउँदले गत वर्षदेखि नै स्ट्रबेरी खेती गर्न थालेका हुन् ।
गत वर्ष परीक्षणका रुपमा स्ट्रबेरी लगाएका साउँद दाजु–भाइले यो वर्ष भने दस कट्ठा जग्गामा स्ट्रबेरीका १२ हजार बिरुवा लगाएका छन् । मङ्सिरमा लगाएको स्ट्रबेरी अहिले फल्न थालेको छ । प्रति किलोग्राम ८ सयदेखि एक हजार रुपैयाँको दरमा स्ट्रबेरी बिक्री भइरहेको कृषक रोशन साउँदले बताए । उनले भने, ‘स्ट्रबेरी उत्पादन सुरु भएको छ । हाटबजारमा लैजाने गरेका छौ । १२ हजार बिरुवा हो । ८ सयदेखि एक हजारसम्ममा बिक्री गर्दैछौ । सुदूरपश्चिममा पहिलो पटक हो । १० कट्ठामा खेती गरेको हो ।’
मल, सिँचाइ र गोडमेलमा ध्यान दिन सके धनगढीको हावापानी र माटोमा स्ट्रबेरी उत्पादन राम्रो हुने कृषक साउँदको अनुभव छ । गत वर्ष गरिएको परीक्षण सफल भएपछि यो वर्ष स्ट्रबेरीको क्षेत्रफल बढाइएको हो । उत्पादन जस्तै बजारमा पनि स्ट्रबेरीको माग राम्रो रहेको छ । हाटबजारमा लग्ने बित्तिकै हतोहात स्ट्रबेरी बिक्री हुने गरेको छ । उनले भने, ‘धनगढी हाटबजारमा आधा घण्टामा २५ किलोग्राम बिक्री गरे। पाउँको डिब्बा बनाएका छौ। उपभोक्ताबाट माग छ। आवश्यकता पूरा गर्न सकेको छैन। यतै पनि आउनु हुन्छ।’
मंसिरमा रोपेको बिरुवा अहिले आएर फल्न थालेको हो। बिहीबारदेखि पाकेको स्ट्रबेरी बिक्री गर्न थालिएको हो। बैशाखसम्म बिरुवाले फल दियो भने प्रति बोटबाट करिब अढाई किलोग्राम उत्पादन गर्न सकिने कृषक साउँदको भनाइ छ । स्ट्रबेरी धनगढीका लागि नयाँ फल भएकाले बजारमा माग र मूल्यको समस्या नभएको कृषक साउँदले बताए । एक बिरुवाबाट साढे २ किलोग्राम उत्पादन दिने उनको आँकलन छ । उनले भने, ‘हामीमा अनुभव छ । सुदूरपश्चिममा सम्भावना छ । तर, समस्या बढी छ ।’
कृषि विषय नै अध्ययन गरेका रोशन र दशरथले गत वर्षबाट जग्गा भाडामा लिएर कृषि व्यवसाय थालेका हुन् । उनीहरू स्ट्रबेरी, मेवा, बेमौसमी तरकारी र पुष्पखेती गर्दै आएका छन् ।