धनगढी : उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधाराचाँदनीमा निर्माण भईरहेको सुख्खा बन्दरगाहको ठेक्का प्रकृया अन्तिम चरणमा पुुगेको बताएका छन । प्रेस चौतारी नेपाल कैलाली शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन ।
धनगढी उपमहानगरपालिकाले आयोजना गरेको सीप तथा रोजगार मेलाको उद्घाटनका लागि मन्त्री भण्डारी विहीबार विहान धनगढी आएका छन ।‘दोधाराचाँदनीमा निर्माण भईरहेको सुख्खा बन्दरगाहको निर्माणका लागि भारत सरकारले ठेक्काको अन्तिम चरणमा रहेको जनाएको छ । नेपाल सरकारको तर्फबाट त्यहाँको रुख कटानको आदेश पनि भईसेको छ । रुख कटानका लागि सूचना समेत प्रकाशित भईसकेको छ । भारत सरकारले निमार्णको ठेक्का गर्ने वित्तिकै रुख कटान पनि सुरु हुनेछ’ मन्त्री भण्डारीले भने ।
उनले भारतको मुन्द्रा सामुद्रीक बन्दरगाहलाई लक्षित गरी उक्त बन्दरगाह निर्माण भईरहेको बताए । ‘नेपालले मुन्द्रा सामुद्रीक पोर्ट पायो भने अहिलेको यातायातको दूरी भन्दा १५ दिनको छोटो दुरी हुन्छ, यसले नेपालको आयात निर्यातमा एकदमै सहज हुन्छ’ मन्त्री भण्डारीले भने ।
उनले गेटामा निर्माण भईरहेको सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि पनि सरकारले तयारी गरिरहेको बताए । ‘सेती प्रादेशीक अस्पताललाई जोडेर भएपनि सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि प्रधानमन्त्रीले शिक्षा र स्वास्थ्य मन्त्रालयलाई निर्देशन गरिसक्नु भएको छ’ उनले भने ।
कैलालीको गेटामा झण्डै ७ अर्वका संरचना बनिसक्दा पनि त्यहाँ न चिकित्सा शिक्षाको अध्यापन हुन सकेको छ, न त्यहाँ राम्रो अस्पताल नै सञ्चालन भएको छ । मन्त्री भण्डारीले अहिले विकास निर्माणका कामहरु सहज पार्नका लागि विभिन्न प्रकारका अध्यादेशहरु आएको बताए ।
‘पुर्वाधार निर्माणमा भन्जटिलो प्रकृया भएका कारण देशमा विकासको गति सुस्त भईरहेको छ । सरकारले त्यसलाई सहज पार्नका लागि विधेयकहरु ल्याएको छ । देशविकासका लागि ती विधेयकहरु सदनले पास गर्नेछ’ उनले भने ।