Skip to main content

माघ २९ देखि डडेल्धुरा मेडिकल कलेजमा कक्षा सञ्चालन हुने

Submitted by editor on
ईबिगुल संवाददाता
डडेल्धुरा मेडिकल कलेज

डडेल्धुरा : सुदूरपश्चिम विश्वविद्यालयमातहत रहेको डडेल्धुरा मेडिकल कलेजले माघदेखि कक्षा सञ्चालन गर्ने भएको छ । कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको अनुमति पाएसँगै कक्षा सञ्चालनको तयारी गरेको हो । सञ्चालन अनुमति पाएर छात्रवृत्तिका विद्यार्थी भर्नासमेत भइसकेपछि २९ माघदेखि कक्षा सञ्चालन गरिने सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले बताए ।


विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी सञ्चालनको अनुमति पाएर छात्रवृत्तिका ७ जना विद्यार्थी भर्ना भएसँगै २९ माघदेखि कक्षा सञ्चालन हुने जानकारी दिए । १० जनाको कोटा पाएकोमा बाँकी तीनजना भने शुल्क तिरेर पढ्न पाउने उनको भनाइ छ ।


‘एमबिबिएसको पढाइ सुरु गर्न भने डडेल्धुरा अस्पताल कम्तीमा पनि तीन सय शैयामा स्तरोन्नति हुन आवश्यक छ,’ उनले भने । ‘तत्काल तीन सय शैयामा अस्पताल स्तरोन्नती भए हामी २०८३ देखि एमबिबिएसको पढाइ सुरु गर्न सक्छौँ ।’ 


विशिष्ट सेवासहितको संघीय अस्पतालका रूपमा रहेको डडेल्धुरा अस्पताललाई नै सरकारले मेडिकल कलेज घोषणा गरेको हो । तर, डडेल्धुरा अस्पताल अहिले एक सय शैयाको स्वीकृत दरबन्दीअनुसार सञ्चालन भइरहेको छ । विशिष्ट सेवासहितको संघीय अस्पताल भएपनि दरबन्दी भने उपक्षेत्रीय अस्पतालकै रहेको छ । उपकुलपति जोशीले डडेल्धुरा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले मेडिकल कलेजमा अध्यापन र मेडिकल कलेजमा अध्यापन गराउने अध्यापकले डडेल्धुरा अस्पतालमा सेवा प्रदान गर्ने गरी मापदण्ड बनाउने पनि तयारी रहेको बताए । 


डडेल्धुरासहित सुदूर पहाडका अस्पतालमा दरबन्दी अनुसार चिकित्सकलगायत स्वास्थ्यकर्मी नहुँदा समस्या छ । आइतबार डडेल्धुरा पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले विकट क्षेत्रमा स्वास्थ्यकर्मीलाई पठाउनै मुस्किल हुने गरेको बताएका थिए ।