Skip to main content

चेतन अयडी हत्याकाण्ड : पिडित भन्छन, ‘न्यायालयप्रतिको विश्वास गुम्यो’

Submitted by editor on
शिवराज भट्ट
चेतन अयडी

बाजुरा : घाईते अवस्थामा घरभीत्र लुकेका युवकलाई क्रुुर तरिकाले हत्या गर्नेहरुलाई सर्वोच्चले रिहा गरेपछि परिवारजनले न्याय मरेको प्रतिक्रिया दिएका छन । बाजुुराको त्रिबेणी नगरपालिका वडा नम्बर ७ का चेतन अयडीलाई घाईते अवस्थामा घरभीत्र लुुकेर बसेका बेला तानेर क्रुर तरिकाले कुुटि कुटि हत्या गरिएको थियो । 


२०७९ मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका क्रममा त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादलाई लिएर अयडी माथि कुटपिट गर्दा उनी घाईते भएका थिए  । उनलाई घाईते अवस्थामै घरभीत्र लुकेको अवस्थामा तानेर लाठी र चिरपट प्रहार गरी उनको हत्या गरिएको थियो । 


मतदान सकेर घर फर्किएका अयडी माथि राति घरमै आक्रमण गरेर कुटपिट गरिएको थियो । मतदानकै क्रममा भएको विवादलाई लिएर प्रहरीले गोली चलाउदा कांग्रेस कार्यकर्ता सञ्जित अयडीको मृत्यु भएपछि आक्रोसित भएको भीडले चेतनको हत्या गरेको थियो । 


अनेरास्ववीयुका  केन्द्रिय सचिवालय सदस्य तथा सुदुरपश्चिम विश्वविद्यालयका अध्यक्षसमेत रहेका चेतन अयडीको हत्या अभियोगमा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडी, चक्रबहादुर अयडी, बिनोदबहादुर अयडी, भूपाल अयडी, रनसिंह अयडी र रुपा चौधरी अयडीलाई जिल्ला अदालत बाजुराले २०७९ पुस ५ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । 


त्यसपछि उनीहरुले उच्च अदालत दिपायलमा पुनरावेदन गरे । उच्च अदालत दिपायलले पनि पुुस २५ गते जिल्ला अदालतले गरेकै आदेश सदर गर्दै उनीहरुलाई पुर्पक्षका लागि थुनामै रहन आदेश गरेको थियो । पिडकहरुले त्यसपछि सर्वोच्च पुगे ।


सर्वोच्च अदालतका न्यायाधिशद्धय प्रकाशमानसिंह राउत र अब्दुलअजिज मुसलमानको संयुक्त इजलासले बिहीबार जिल्ला अदालत र उच्चअदालतले समेत सदर गरेको आदेश बदर गर्दै उनीहरुलाई साधारण तारेखमा राखेर छोडेको पछि  पिडितहरु तनावमा परेका हुन । 
चेतन अयडी हत्या अभियोगमा पक्राउ परी पुर्पक्षमा कारागार चलान गरिएकाहरुलाई छाड्न सर्वोच्च अदालतले दिएको आदेशप्रती मृतकको परिवारले असन्तुष्टि व्यक्त गरेका छन । कानुनमाथि विश्वास गरेर न्यायको लडाइँ लडिरहेका बेला सर्वोच्च अदालतले दिएको आदेशले चिन्तित र भयभीत बनाएको मृतकका भाई मिलन अयडी बताए ।


‘घरभित्रबाट तानेर दाजुको क्रुर तरिकाले हत्या गरियोे । न्यायको मन्दिर सर्वोच्च अदालतले न्याय मारेको छ । सर्वोच्चको फैसलाले गाउँमा आतंक, डर र त्रास फैलिएको छ’ मिलनले भने । ‘दाजुको हत्या हुने समय धेरैले बदला लिनुपर्छ भनेका थिए । तर मैले कानुनमा विश्वास गर्नुपर्छ । दाजुको हत्यारालाई सजायको दायरामा ल्याउनुपर्छ भनेर रोकेको थिए, आज हामी माथि अन्याय भयो ।’


चेतन अयडीको बुवा गगन अयडीले छोरालाई क्रुर तरिकाले १४–१५ जनामिलेर हत्या गरेको भिडियो सर्वोच्च अदालतको इजलासमा देखाउँदा समेत न्यायाधीसले वेवास्ता गरेको गुनासो गरे । सर्वोच्चको फैसलाले द्धन्द्ध  भड्काउने काम गरेको बताउलै उनले भने,  अब हुने दुर्घटनाको जिम्मेवारी राज्यले लिनुपर्छ । 


‘छोराको हत्या गर्ने बेलाको भिडियो वकिलमार्फत सर्वोच्चको इजलासमा न्यायाधीशलाई दिए तर उहाँहरुले हेर्न मान्नु भएन’ अयडीले भने । ‘प्रमाण पेश गर्ने अवसर समेत दिइएन । द्धन्द्ध भड्काउने काम गरिएको छ । अब चुप लागेर बस्ने अवस्था छैन । अब हुने सम्भावित क्षतिको जिम्मेवारी राज्यले लिनुपर्छ ।