नेपालमा गणतन्त्र दिवस हरेक वर्ष जेठ १५ गते भब्य रूपमा मनाइन्छ । यो बर्ष पनि सधैंका बर्ष जस्तै विभिन्न कार्यक्रमका साथ देशभर मनाइदै छ । अंग्रेजी पात्रो अनुसार मे २८ तारिखमा पर्छ । यो दिन २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकमा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको एक ऐतिहासिक घटनाको सम्झना स्वरुप यो दिन एक उत्सबका साथ मनाइने गरेको छ ।
बिगतका दिन झै यो बर्ष पनि गणतन्त्र दिवस सरकारी स्तरमा भव्य रूपमा मनाईने तयारी छ । राष्ट्रपति प्रधानमन्त्रीद्वारा विशेष सन्देश जारी गरिन्छ। सरकारी कार्यालयहरू, विद्यालयहरू, सुरक्षाकर्मी, राजनीतिक दलहरू, विभिन्न संघसंस्था तथा सर्वसाधारणद्वारा विविध कार्यक्रमहरू आयोजना गरिन्छ।
यस दिन देशभर प्रभातफेरी, कविता, नाटक, गोष्ठी, वक्तृत्वकला, सांस्कृतिक कार्यक्रम आदिका माध्यमबाट गणतन्त्रको मूल्य, योगदान र चुनौतीबारे जनचेतना फैलाइने जस्ता महत्त्वपूर्ण कार्यक्रमहरु गरि हर्ष उल्लासका साथ मनाइन्छ । यो दिनलाई जनताको उत्सबका रुपमा मनाइन्छ, जनताले जितेको दिन आफ्ना हक, अधिकार सुनिश्चित भएको दिनका रुपमा मनाइने गरिन्छ ।
गणतन्त्र दिवस नेपालको आधुनीक राजनीतिक इतिहासको एक महत्वपूर्ण क्षण हो। यो दिन नेपालमा राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको औपचारिक घोषणा सम्झना स्वरूप भब्य रुपमा मनाइन्छ।
नेपालको राजनीतिक परिवर्तनको लामो संघर्ष र बलिदानपश्चात प्राप्त यो प्रणालीले देशको शासन व्यवस्थामा एक ऐतिहासिक मोड ल्याएको हो ।
नेपालमा सयौँ वर्षदेखि राणा शासनको एकछत्र राज थियो । हरेक क्षेत्रमा जनताको मत, अधिकार र सहभागितामा न्युन गरिन्थ्यो । जहाँ सर्बसाधारण जनताहरुले बोल्नसम्म बन्देज गरिन्थ्यो । शिक्षा, स्वास्थ्य, मनोरञ्जन र खेलकुद इत्यादि क्षेत्रमा त जनताका छोराछोरीले सपना पनि देखन नपाइने जस्तो शासन व्यवस्था थियो ।
शिक्षा,स्वास्थ्य त राणाहरुका छोरा छोरीका लागि मात्र हुन्थ्यो । त्यति बेला सर्वसाधारणका छोरा छोरी राणाका सन्तानहरुको हेरचाह गरिदिने कामदारका रुपमा राखिन्थे । त्यो समयमा राजा नै राज्यसत्ता र शासनको केन्द्रबिन्दु मानिन्थे । यस्तो शासन प्रणाली जनतालाई बिस्तारै असह्य हुँदै गयो । यो शासनका बिरुद्धमा विभिन्न तवरबाट बुलन्द आवाजहरु आउन थाले तर समयक्रमसँगै जनतामा लोकतान्त्रिक चेतना बढ्दै गयो। आम जनतामा चेतना भए संगै २००७ सालको प्रजातान्त्रिक आन्दोलनले राणा शासनको अन्त्य गरेरै छोडे ।
यो शासन अन्त्य संगै लोकतन्त्रको सुरुवात भयो ।केही समय जनतामा खुशी छायो त क्षणभर मै हराउदै गयो । त्यसपछि पनि प्रजातन्त्र कमजोर रह्यो र राजाहरूले पुनः सत्ता आफ्नो नियन्त्रण लिँदै गए।
२०४६ सालको जनआन्दोलनबाट प्रजातन्त्र पुनःस्थापना भयो र संसदीय प्रणाली सुरु गरियो। तर, अझै पनि पूर्ण जनसहभागिता, समानता र समावेशीतामा आधारित शासन व्यवस्था स्थापनाका लागि नेपाली जनताको संघर्ष जारी रहिरह्यो ।
२०५२ सालबाट माओवादीको १० बर्षे सशस्त्र जनयुद्ध सुरु भयो र विभिन्न राजनीतिक दलहरूको पनि आन्दोलन सुरु हुन थाल्यो र बिस्तारै राजतन्त्रलाई कमजोर बनाउदै गए । यो आन्दोलनले पनि नेपाली जनतामा थप प्रेरणा थपिदै गयो । अन्तमा त २०६२÷०६३ सालको ऐतिहासिक जनआन्दोलनले निरंकुश राजतन्त्रको अन्त्य गरेरै छोडयो। सोही आन्दोलनको परिणामस्वरूप संविधान निर्माणका लागि संविधानसभाको निर्वाचन भयो।
बि.स २०६४ साल चैत्र २८ गते पहिलो संविधानसभाको निर्वाचन सम्पन भएको थियो। उक्त निर्वाचन पश्चात् पहिलो संबिधान सभाको पहिलो वैठकले नेपाललाई राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्र राज्यका रूपमा बि.स २०६५ जेष्ठ १५ गते घोषणा गरेको थियो ।
लोकतान्त्रिक गणतन्त्र त्यस्तो राजनीतिक र सामाजिक अवस्था हो, जहाँ मुलुक लोकतन्त्रका आधारभूत सिद्धान्तहरू जस्तैः– जनताको सर्वोच्चता, विधिको शासन, मानवअधिकारको संरक्षण, स्वतन्त्र र निष्पक्ष निर्वाचन, उत्तरदायी र पारदर्शी शासन पूर्ण रूपमा कार्यान्वयन हुनुपर्छ र राज्य त्यस दिशातर्फ अग्रसर हुँदै जाने व्यवस्था कायम गर्नु पर्छ भन्ने मान्यतामा अग्रसर हुन्छ।
नेपालमा गणतन्त्रले थुप्रै परिवर्तनहरू ल्याएका छन। देशको सर्वोच्च प्रमुख पद कुनै बिगतका दिनहरु जस्तो राजा वा रानी कुनै एकल व्यक्ति वा परिवारबाट शासन प्राप्त हुँदैन। यसमा सत्ता जनताबाट आरम्भ हुन्छ र जनताले आफ्नो प्रतिनिधि छान्ने प्रक्रियाबाट शासन अगाडि बढछ । गणतन्त्रले सबै नागरिकलाई समान अधिकार, स्वतन्त्रता र अवसर सुनिश्चित गर्छ, जसले जनताको आवाजलाई प्राथमिकतामा राखेको हुन्छ।
गणतन्त्रको व्यवस्थामा सरकारलाई जनता प्रति जवाफदेही बनाइन्छ र जनताको सहभागिता र प्रत्यक्ष वा अप्रत्यक्ष निर्वाचनको माध्यमबाट सत्ता हस्तान्तरण हुन्छ। यसले लोकतन्त्रको आधारशिला तयार पार्छ जहाँ सबै मानिस जात, धर्म, लिङ्ग, भाषा वा वर्ग अनुसार भेदभावविना समान अवसर पाउँद्छन ।
नेपालमा गणतन्त्रको स्थापना पश्चात् राज्य धर्मनिरपेक्षता गयो, जसले सबै धर्मप्रति समान व्यवहार र धार्मिक स्वतन्त्रता सुनिश्चित गरेको छ । यसले सामाजिक समानता र समावेशितालाई प्रवद्र्धन गरी महिला, दलित, जनजाति र अन्य पिछडिएका वर्गहरूको अधिकारको संरक्षणमा ठूलो भूमिका खेलेको छ।
गणतन्त्रमा संविधानको सर्वोच्चता हुन्छ र सबै नागरिक तथा निकायहरू संविधानको नियम र कानुन अनुसार चल्न बाध्य हुन्छन्। यसले सत्ताको दुरुपयोग रोक्न र कानुनी शासनलाई प्रबर्धन गर्न मद्दत गद्र्छ । यस्तै परिवर्तनहरुले जनता र सरकारबीचको सम्बन्धलाई अझ मजबुत, पारदर्शी, जवाफदेही र उत्तरदायी बनाएको छ।
गणतन्त्र स्थापना भए पछि विभिन्न चुनौतीहरू सामना गर्नु परेको छ ती मध्ये केही प्रमुख चुनौतीहरू यस प्रकार छन ।
१. राजनीतिक अस्थिरता
बारम्बार नेपालको सरकार परिवर्तन भैरहनु, विभिन्न राजनीतिक दलहरूबीचको विवाद,असमझदारी र सरकार सञ्चालनमा स्थायित्व नहुनु गणतन्त्रका लागि ठूलो चुनौती हो।
२. भ्रष्टाचार
दिनप्रती दिन जनप्रतिनिधिहरू र कर्मचारीहरुका कारण बढदै गरेको भ्रष्टाचारले शासन प्रणालीप्रति जनताको विश्वास घट्दै गएको छ ।
३. जनताको सहभागिता कमजोर हुनु
जनताले मतदानबाहेक अन्य विभिन्न क्रियाकलापमा सक्रिय रुपमा सहभागिता नगराउदा प्रतिनिधित्व कमजोर हुँदै गएको छ ।
४. संवैधानिक निकाय कमजोरी
न्यायपालिका, मानव अधिकार आयोग, अख्तियार लगायतका संवैधानिक निकायहरू प्रभावकारी नहुनु नै गणतन्त्रलाई कमजोर पार्नु हो।
५. शिक्षा र चेतनाको अभाव
जनतामा गणतन्त्र र लोकतन्त्रप्रतिको सही बुझाइ नहुनु, अफवाह र भ्रामक प्रचारको असरले अस्थिरता निम्त्याइ रहेको छ ।
६. विकासमा विभेद
वर्गीय विभेद कायम रहँदा समानताको भावना कमजोर हुन्छ, जुन गणतन्त्रको मूलमन्त्रविपरीत हुन्छ ।
७. सत्ताको दुरुपयो
सत्तामा पुगेका व्यक्तिहरूले व्यक्तिगत वा दलगत स्वार्थमा कानुनको दुरुपयोग गर्नु गणतान्त्रिक मूल्य र सिद्धान्तको अपमान गर्नु हो।
यस्तै किसिमका चुनौतीले गणतन्त्र कम्जोर बनाउदै गएको छ । यसले जनतालाई आफ्नो भविष्य आफैँ निर्माण गर्ने अधिकार दिएको छ। तर गणतन्त्रको मूल्य मान्यतालाई केवल घोषणा वा उत्सवमा सीमित गर्नु होइन। यसको व्यवहारिक कार्यान्वयन, सबै नागरिकको अधिकार सुनिश्चितता, न्याय, समानता, समावेशिता र उत्तरदायित्वमूलक शासन प्रणालीको निर्माण आजको आवश्यक हो । त्यसैले हामी सबै नेपालीले गणतन्त्रको रक्षाका लागि आफ्नो ठाउँबाट ईमानदारीपूर्वक कर्तव्य निर्वाह गर्नुपर्छ। एउटा सच्चा नेपाली हुनुको नाता गणतन्त्रको रक्षा गर्नु नेपाली जनताको कर्तव्य हो ।
गणतन्त्र दिवस हामीलाई केवल विगत सम्झाउने दिनका रुपमा मात्र होइन, हाम्रो भविष्य निर्माणका लागि पनि प्रेरणा दिने एक सुनौलो अवसरका रुपमा स्थापित बनोस । सम्पुर्ण नेपालीहरुलाई गणतन्त्र दिवसको शुभकामना ।