Skip to main content

संसदीय समितिहरुले एक वर्षपछि पाए पूर्णता, चारै सभापतीको सपथ

Submitted by editor on
ईबिगुल संवाददाता
सपथ

धनगढी : प्रदेश सभाका सदस्यहरुले सपथ लिएको एक वर्ष ९ दिन पछि बल्ल संसदीय समितिहरुले पूर्णता पाएको छ । बुधबार सर्वसम्मत भएका चारै जनाले सभापती पद तथा गोपनीयताको सपथ खाएका हुन । 

काँग्रेसको भागमा पारिएको विधायन तथा प्रदेश मामिला समितिको सभापतीमा प्रदेशसभा सदस्य दिवानसिह विष्ट, सामाजिक विकास समितिको सभापतीमा नेकपा एकीकृत समाजवादीकी माया पन्त, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुुक्ति पार्टीका घनश्याम चौधरी र सार्वजनिक लेखा समितिको सभापतीमा नेकपा एमालेका बीरबहादुर थापाले पद तथा गोपनीयताको सपथ खाएका हुन ।

चारै जनालाई सभामुख भीम बहादुर भण्डारीले पद तथा गोपनीयताको सपथ खुवाए । सोमबार सार्वजनिक लेखा समिति नेकपा एमालेलाई दिने सहमति भएपनि मंगलबार मनोनयनका बेला भने नेकपा एसका केही नेताहरुले राप्रपालाई दिनपर्छ भनेर बखेडा झिकेपछि सार्वजनिक लेखा समितिको मनोनयन ढिला गरी भएको थियो ।

संविधान अनुसार सार्वजनिक लेखा समिति प्रतिपक्षी दललाई दिने ब्यवस्था छ । समाजवादीका केही नेताहरुले संसदमा १ जनाको मात्र प्रतिनिधित्व रहेको राप्रपाकी खीमादेबी विष्टलाई सार्वजनीक लेखा समिति सभापती बनाउने भनेपछि मनोनयन दर्तामा ढिलाई भएको थियो ।

अन्तमा माओवादी केन्द्र संसदीय दलका उपनेता अक्कल रावलको प्रस्ताव र एमालेकी प्रदेश सभा सदस्य सन्तोष शर्मा थापाको समर्थनमा बीर बहादुर थापाको मनोनयन दर्ता भएपछि उनले पनि बुधबार सपथ लिएका छन ।