धनगढी : कैलालीको धनगढीमा आइतबार देखि लैंगिक समानताका लागि पुरुष सहभागिता विषयक ५ दिने प्रशिक्षक र प्रशिक्षण तालिम सञ्चालन भएको छ । लैंगिक हिंसा न्यूनीकरण गर्न पुरुषको मानसिक सोच परिवर्तन गर्न आवश्यक देखिएकाले तालिम आयोजना गरिएको दलित महिला अधिकार मञ्च नेपालकी अध्यक्ष सावित्रा घिमिरेले बताइन् ।
तालिममा सहभागि पुरुषलाई सिकेको कुरा समुदायमा लागु गर्न घिमिरेले आग्रह गरेकिछन् । लैंगिक हिंसा न्यूनीकरणका लागि महिला मात्रै जागरुक भएर नपुग्ने बताउँदै उनले पुरुष पनि सो अभियानमा संगै हुनुपर्ने बताइन् ।
हिंसा न्यूनीकणका लागि पुरुषका भूमीका पनि अपरिहार्य हुने अध्यक्ष घिमिरेको भनाई छ । ‘हिंसामा महिला संगै पुरुष पनि परेका हुन्छन्’ अध्यक्ष घिमिरेले भनिन्, ‘तर समाजमा सधै महिला माथीमात्रै हिंसा हुन्छ भन्ने सोच रहदै आएको छ, हिंसा अन्त्यका लागि पुरुषको सहभागिता र सोच परिवर्तन हुनुपनि जरुरी छ ।’
तालिम उद्घाटन गर्दैै कैलाली जिल्ला समन्वय समितिकी प्रमुख टीका भुल चौधरीले लैंगिक हिंसा अन्त्यका लागि महिलासंगै पुरुषको सहभागिता हुनु जरुरी रहेको बताइन् । हिंसामा महिला मात्र नभई पुरुष पनि पर्नेगरेको उनको भनाई छ ।
डिडब्लुआरएफले समाज परिवर्तनमा महत्वपूर्ण भूमीका निर्वाह गर्र्दै आएको भूलको भनाई छ । पितृ सत्तात्मक सोचका कारण अहिले पनि समाजमा ठुलो विभेद रहेको बताउँदै समन्वय प्रमुख भूलले भनिन्, ‘छोरानै चाहिन्छ भन्ने सोचका कारण महिला शारिरीक तथा मानसिक रोगको सिकार हुनुपर्नेअवस्था छ, छोरा नभएकै कारण धेरै महिला आत्महत्या गर्न बाध्य भइरहेका छन् ।’
दलित महिला अधिकार मञ्च नेपालको आयोजना तथा डिसिएको आर्थिक सहयोगमा सञ्चालन भएको तालिममा कैलारी गाउँपालिका र भजनी नगरपालिकाका ३० जना पुरुषको सहभागिता रहेको छ ।