Skip to main content

रैथाने अन्डी धान मासिँदा अट्वारीमा असर

Submitted by editor on
ईबिगुल संवाददाता
अनदी

धनगढीः रैथाने अन्डी (अनदी) धान मासिँदै गएपछि थारू समुदायको अट्वारी पर्वमा असर परेको छ।

अट्वारी पर्वका लागि अन्डी धानको चामल चाहिनेमा त्यो अभाव हुँदा थारू समुदायको महत्वपूर्ण पर्वमा असर परेको हो। अट्वारी मनाउन अन्डीको रोटी अनिवार्य परिकार मानिन्छ। यो बाली मासिँदै गएपछि धेरैले अट्वारी नै नमनाउने अवस्था छ। खेती किसानी गर्दै आएका परिवार नै अन्डीको चामल नहुँदा अट्वारी पर्वमा व्रत बस्दैनन्। खेती नगर्ने परिवारलाई झनै समस्या छ।

अट्वारीका लागि अन्डीको चामल पाउनै मुस्किल रहेको स्वास्थ्यकर्मीसमेत रहनुभएकी कुसुम चौधरीले बताईन।धेरैतिर खोजेँ। बल्लबल्ल एक ठाउँमा पत्ता लाग्यो तर, थोरै भएकाले बेच्नै मानेनन् उनले थपिन्,अन्डीको चामलबिना त अट्वारी पर्व कसरी मनाउने ?

पश्चिमका थारू समुदायले दुई दिनसम्म मनाउने यो पर्व यस वर्ष भदौ ८ देखि सुरु भएको छ। पर्व नजिकिए पनि कतिपय परिवारले अन्डीको चामल पाउन सकेका छैनन्। अट्वारीमा अन्डीको चामलको पिठो बनाएर त्यसको रोटी पकाउने, खाने र त्यही रोटी आफ्ना विवाहित दिदीबहिनीलाई उपहारका रूपमा अग्रासन दिने चलन छ।

अट्वारी विशेष पर्व भए पनि अन्डीको धान नहुने गरेका कारण यो पर्वलाई धेरै जसोले आधुनिक तरिकाले मनाउन थालेको धनगढी उपमहानगरपालिका–५, जाईका भलमनसा कुलवीर चौधरीले बताए। हाम्रोतिर अचेल अन्डी धानको खेती कोही पनि गर्दैनन्उ नले भने, कतिपयले आधुनिक तरिकाले अट्वारी मनाउन थाले। कतिपयले पर्व मनाउँदैनन्।

सुदूरपश्चिम प्रदेशमा तराईको रैथाने बाली अन्डी धान र थारू आलु मानिन्छ। पछिल्लो समय थारू आलुतर्फ किसानको आकर्षण थोरै बढे पनि अन्डी धानको खेतीमा भने आकर्षण छैन। कतिपयले आफूलाई चाहिने थोरै मात्रै अन्डी धानको खेती गर्ने गरेका छन्। धेरै जसोले यसको सट्टा उन्नत प्रजातिका धान लगाउने गरेका छन्।

अन्डी धान उत्पादन कम हुने र ढिलो पाक्ने कारणले किसानले मास्दै गएको भजनी नगरपालिका–५, लालबोझीका कृषक खोजराम चौधरीको ठम्याइ छ। उनले भने,अन्डी धान उत्पादन अरू धानको तुलनामा कम हुन्छ। ढिलो पाक्छ। त्यसैले किसानले छोड्दै गएका हुन् । कृषि ज्ञान केन्द्रका अनुसार अन्डी धान धार्मिक, पौष्टिक हिसाबले निकै महìवपूर्ण थारू रैथाने बाली हो।

थारू समुदायमै यो बाली अहिले बिलय हुँदै गइरहेको छ। सरकारले नीतिगत रूपमा ध्यान नदिएका कारण महìवपूर्ण रैथाने बाली अन्डी धानको जगेर्ना हुन नसकेको कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताए। उनले अन्डी धानको महत्वका बारेमा किसानलाई बुझाउन र यसको क्षेत्रफल बढाउन आवश्यक रहेको औँल्याए।

बिस लाख बजेट

रैथाने अन्डी धान र थारू आलुका लागि ज्ञान केन्द्रमा चालु आवमा २० लाख रुपियाँ बजेट आएको छ। गत आव यसैका लागि आठ लाख रुपियाँ बजेट रहेको थियो। आएको बजेटलाई बिउबिजन, मल, विषादी, कृषि यन्त्र, तालिमलगायत सदुपयोग गर्ने जनाइएको छ। केन्द्रको अनुदान सहयोगमा यस वर्ष कैलालीको कैलारी गाउँपालिकामा चाररपाँच बिघा जमिनमा अन्डी धानको खेती भएको कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले जानकारी दिए।