विवश खड्का
आत्मिक, अन्तर्मुखी स्वभावकी देवी पार्वती आत्माको प्रतिष्ठा, ध्यान एवम् आन्तरिक सामथ्र्यको प्रतिष्ठा भएकै कारण भगवान् शिवलाई स्मरण गर्दै उनको जीवनको अन्तरदृष्टि, आध्यात्मिकताका साथ हर्ष, मंगल र आरोग्य साथ–साथै नदी, वन, पहाड आदि प्राकृति तत्वसित प्रेम गरेर उनलाई प्रकृतिकै साथमा सम्बन्ध बनाउन चाहन्थिन् । जसबाट सुन्दर प्राकृतिक संतुलनको अनुभव हुन सकोस् ।
देवी सतीले यज्ञमा प्राण त्याग गर्ने समयमा दृढ संकल्प गरेकी थिइन् कि ‘म राजा हिमालयको ठाउँमा जन्म लिएर भगवान् शिवको अर्धाङ्गिनी बन्न सकुँ ।’ माता सतीले प्राणको आहुती दिएपछि भगवान् शिव भावविह्वल हुँदै सदैव देवी सतीलाई संझिरहन्थे । केही वर्षपछि देवी सतीले पर्वतराज हिमालयकी पत्नी मेनकाको गर्भमा जन्म लिइन् । पर्वतराज हिमालयकी पुत्री भएकै कारण उनी पार्वती कहलिन् भन्ने जनश्रूति छ ।
पुर्वजन्मको उनको भीषण प्रतिज्ञा र भगवान् शिव प्राप्तिको लागि उनी सानैदेखि एकान्तमा भगवान् शिवको एकाग्रता मनले नाम तप र ध्यान गरेको देख्दा भगवान् विष्णु प्रसन्न भएर उनीसँग विवाह गर्ने निर्णय गरे र यो कुरा थाहा पाएपछि हिमालय अति खुसी भएर देवी पार्वतीको विवाह भगवान् विष्णुसँग गराउन राजी भए ।
उता देवी पार्वती भने यो खबर सुनेर निर्लिप्त र असह्य भइन् । देवी पार्वतीको विवाह उनको इच्छाविरुद्ध भगवान् विष्णुँसँग गराउने हिमालयको निर्णयलाई अस्वाभाविक ठानेर पार्वतीकि एकदमै प्रिय सँगीले देवी पार्वतीलाई अपहरण गरेर जंगल लगिन् र पछि यसैलाई हरितालिका तीज भनेर नामाकरण गरियो भन्ने किंवदन्ती छ । जसमा हरत भनेको अपहरण र आलिका भनेको महिला मित्र भन्ने बुझिन्छ ।
यसरी महल छोडेर सयौं वर्षसम्म महादेव पति पाउँ भनेर कठोर तपस्यामा निर्जला, निराहार आदि केही पनि आहार नगरी नदीको छेउमा बसेर बालुवा र माटोले भगवान् शिवका मुर्ति बनाएर घोर तपस्या, ध्यान र पूजापाठ गरि माता पार्वतीले पतिको रुपमा भगवान् शिव प्राप्त गरेकोले तीजमा अविवाहित महिला असल, कर्मठ र स्वस्थ पति पाउँ भनेर उपवास गर्छन् भने विवाहित महिला आफ्नो पतिको दिर्घायु, आरोग्यलाभ, सुख, शान्ति र ऐश्वर्य लाभको लागि व्रत बस्छन् ।
के हो दर ?
सामान्यतया वर्तको एक दिन अगाडि छरछिमेकका नारीहरु एकै ठाउँमा भेला भएर वा घरका महिला सदस्यहरु मिलेर मिठा–मिठा सात्विक परिकार खाने परम्परा नै दर हो । सात्विक परिकार भन्नाले दही, घ्यू, खीर फलफूल जुन हाम्रो वैदिक सनातनले स्विकार गरेका र मनलाई एकाग्रता, दिमागलाई शान्ति र पूजापाठ गर्दा पनि आत्मालाई शान्ति दिने र शरीरलाई उर्जाशील बनाईराख्ने खालका खानेकुरा पर्छन् ।
हिजोआज आधुनिकताको नाममा हप्तादिन पहिलेदेखि नै पार्टीप्यालेस र होटेलमा गएर दरको नाममा तामासिक भोजन, मदिरा, पेय पदार्थ, अखाद्य खाना खाएर तीजको दरको महिमा र गरिमामा नकारात्मक संदेश दिन चेष्टा गरिरहेका छन् । यसले पछिल्लो पुस्तालाई पुग्ने असरको बारेमा कुनै विचारै नगरेको जन गुनासो छ ।
तीजको सामाजिक महत्वः– तीज एउटा निश्चित धर्मावलम्बीलाई मात्रै नभएर अन्य आस्थाका धर्मावलम्बीलाई पनि जोड्ने काम गरेको छ । यो एउटा पर्व मात्रै नभएर गहन सामाजिक महत्व पनि छ । यो पर्वले महिलाहरुको दुःख सुख, माया प्रेम अभिव्यक्त गर्ने र आ–आफ्ना अनुभव साटासाट गर्दै एक अर्काको समर्थन गर्नुका साथै विशेषगरी महिलाहरुले पहिचानको जस्न मनाउनको लागि अझै सशक्त बनाउँछ । केही फुर्सदिलो भएकोले कयौं महिनादेखि भेटघाट नभएका दिदीबहिनीहरु एकै ठाउँमा जम्मा भएर मिलन, वियोग हर्ष र दुखेसो पोख्ने एउटा माध्यम र सामुदायिक भावनालाई जोड्ने, नेपालीहरुका अनेकन भावनालाई एकीकृत गर्ने, सामुदायिक मनोभावना जोड्ने र देश, समाज, गाउँ र प्रदेशमा समेत सद्भाव कायम राख्ने मदत गर्छ ।
मान्छे जति आधुनिकताको नाममा उच्छृङ्खल एवम् पश्चिमेली शैलीको नक्कल जति गरे पनि यो पर्वले वस्त्रमा भने आफ्नो अस्तित्वको धरातलमा घुडा टेकाएकै छ । यो एक पर्व मात्रै नभएर सभ्यता पनि हो । यसले महिला मात्रै नभएर लैङ्गिक हिसाबले पनि नारी पुरुषको समानताको दुरीमा उत्साह ल्याएको छ । महिलाहरुको महान पर्व तीज भने पनि पुरुषहरुलाई पनि रमाइलोको साथै भेटघाट नभएका दाजुभाई, साथीभाई र इष्टमित्रलाई एउटा जमघट गर्ने समय अवसर भने मिलेको छ ।
साँस्कृतिक महत्व ः– सनातन परम्परा संस्कार, संस्कृति र नेपालीको चालचलन अनुरुप पहिले समूहमा भेला भई आफ्ना दुःखसुखका माइती, पोइली, भौगोलिक बनावट, मिलन, विछोड दाजुभाई, आमा बुवासँग लामो समयसम्म भेटघाट नभएको र व्यक्तिगत जीवनस्तर लगायत सम्पूर्ण विषयलाई उजागर गर्दै प्रत्यक्ष गीत गाएर टेप र रेडियोबाट बजेका गीतहरु मा नाँच्दै रमाउथे ।
आजकाल विद्युतीय प्रविधिको विकाससँगै विभिन्न तीज कार्यक्रमहरुमा नेपाली मौलिक तीजका भाकाहरु हराउँदै गइरहेका छन् । यो चिन्ताको विषय हो । तीजका नाममा आएका अश्लिल गीतहरुबाट सतर्कत भएर समाजलाई कुनै प्रभाव नपर्ने खालका समाज, राष्ट्र र महिला दिदीबहिनीहरुका विषयमा राम्रो संदेश दिने खालका गीतका भाकाहरु बज्नुपर्छ । पति–पत्नी बिचको सुमधुर सम्बन्धलाई प्रगाढ पार्ने, कारणवश माइतीघर जान नपाएका चेलीका बिलौना पोखेका गीतहरु छनोट हुनुपर्छ । जसले एउटा साँगितिक क्षेत्रलाई पनि जोड्न मद्दत गरोस् ।
तीजको आर्थिक भावः– कुनै पनि पर्व आफैंमा धार्मिक आस्था र साँस्कृतिक सम्पदासम्म जोडिएका हुन्छन् । मन्दिर गएर पूजापाठ गर्न नसक्नेहरुका लागि पनि घरमा भगवानका मुर्ति भए त्यसैमा पूजा गर्ने त्यो पनि नभए हात जोडेर पवित्र मनले मनमनै भगवानको नाम लिएपनि फल मिल्छ भन्ने भनाइ छ । तर तीजलाई हुनेले कहिले आउँछ भनेर महिना दिन गिन्ती गर्दै गर्ने र तीजलाई अत्यन्तै खर्चिलो र भड्किलो पार्ने प्रवृत्ति छ भने नहुनेले कुनैपनि चाँडपर्व नै नआइदिएको भए हुन्थ्यो भन्ने लाग्छ ।
यस्तो आर्थिक स्तरको समस्याले गर्दा तीज एउटा धार्मिक पर्व नभएर आभूषणको देखासिकी, पहिरनको प्रदर्शनी र फेशनको शोको मेला महोत्सव होकी भन्ने पनि देखिन्छ । जसले गर्दा तीजको मौलिकता, विशेषता परम्परादेखि चल्दै आएको विशुद्ध पर्व, साधना र परस्परमा सुमधुर सम्बन्धलाई एकशुत्रमा बाँध्ने यस महान पर्वले आर्थिक पाटोकै कारण सम्पूर्ण महिला वर्गलाई एकत्रित गर्न कठिनाइ हुने होकी भन्ने प्रश्न पनि खडा भैरहेको छ ।
यो अवस्थालाई चिर्न तीजलाई तीजको रूपमा मात्रै मनाऔं ।सनातनी र पवित्र पर्वका रुपमा र हर्षोन्मादका साथ मनाऔं । (उपवास) सामान्यतया उपवास ‘उप’ र ‘वास’ दुईवटा शब्द मिलेर उपवास बनेको हो । ‘उप’ भनेको नजिक र ‘वास’ भनेको बस्नु भन्ने बुझिन्छ ।समग्रमा भगवानको नजिक ध्यान लगाएर बस्नु अथवा शुद्ध मन र कर्म र व्यावहारले ईश्वरको निकट बस्ने कोशिश गर्नु नै उपवास हो । उपवास रहनाले मोटोपनमा सुधार, पाचनक्रिया मजबुत, आयु वृद्धि र हृदय स्वास्थ्य बढाउने चिकित्सकहरु बताउँछन् ।
यस्तै उपवासले गर्दा तौललाई नियन्त्रणमा राख्नुको कब्जियत, थकान र टाउको दुख्ने जस्ता थुप्रै समस्याहरुलाई नियन्त्रण गर्छ भन्ने कुराहरू चिकित्सक बताउँछन् । यस्तै ध्यानमग्न भई बस्ने उपवासले मानसिक, पवित्रताका साथै आत्मामा स्वच्छता दिलाउँछ । यो एक किसिमले धार्मिक पवित्रतासँग र श्रद्धा, भक्ति प्रदर्शनको माध्यम भएता पनि यो भित्रका वैज्ञानिक कारणहरु फाइदा भने थुप्रै रहेको विशेषज्ञहरु बताउँछन् ।
चल्दै आएको मौलिक तीजलाई जीवन्त कसरी बनाउने र भोलिका पुस्ताले पनि यो तीजको परम्परा, संस्कार, संस्कृतिको बिडोकसरी थाम्न सक्छन् भन्नेतर्फ सचेत हुनुपर्ने बेला भइसकेको छ । पर्व केवल रमाइलो वा सजावटको नाममा सिमित नभई नारीको संघर्ष, आस्था,विश्वास र संस्कृतिको गहिरो खाडल पनि हो । भोलिका पुस्ताले यस मौलिकतालाई भुलेर आधुनिक पाश्चायत संस्कृति तिर धकेल्दै तीजको अस्तित्व नै खतरामा पर्छ कि भन्ने चिन्ताको विषय बनेको छ । महँगो पहिरन, सौन्दर्य प्रतियोगिता समाज र सामाजिक मिडियामा देखाउनकै लागि फोटो, भिडियो खिच्ने होडबाजी प्रवृतिले मौलिक संस्कृतिलाई धमिल्याउने काम भइरहेको÷गरिरहेका छन् । यसरी तीज अब साँस्कृतिक र आध्यात्मिक पर्वभन्दा पहिरनको प्रतिस्पर्धा तँछाडमछाड जस्तो भइरहेको छ ।
किन जोगाउने तीजको मौलिकता ?
हरेक देशमा कुनै न कुनै किसिमको आफ्नो साँस्कृतिक र परम्परागत पृथक पहिचान हुन्छ । तीज नेपाली महिलाको साझा र विशेष महत्व बोकेको पर्व हो । यसलाई संरक्षण गर्नु भनेको हाम्रो पहिचान राख्नुको साथै सामाजिक ऐक्यबद्धता, परिवार र समाजलाई जोड्न अवसरका साथै नारी सशक्तीकरणमा महिलाहरुको एकरुपता र आत्मबल अझै प्रखर हुन्छ ।
तीजलाई वर्तमान मात्रै सीमित राख्ने होइन विशेष आत्माशुद्धि पनि गर्न आवश्यक छ । तीजलाई यदि केवल व्रतको दिनमै सीमित गरिन्छ भने यसको मुल सारलाई आधा मात्रै बुझिन्छ । पति र परिवारका लागि नारीको कर्तव्य व्रत बसेर मात्रै पूरा हुँदैन । यो मनको भावना व्यवहारको पवित्रता बोलिको मीठास र कर्मको सत्यनिष्ठासँग जोडिएको हुन्छ । व्रत भनेको शरीरलाई क्षणिक भोक र तिर्खा सहन सिकाउने अभ्यास हो भने कर्तव्य भनेको जीवनभर निरन्तर निभाइरहने आचरण हो । पति र परिवार केवल व्रतबाट मात्र दिर्घायु हुदैनन् । उहाँहरुलाई संस्कार, जिम्मेवारी, मायाले स्याहार्ने संकटमा साथ दिने, खुसीमा सहभागी हुने, सानो गल्तीलाई क्षमा गर्ने र घरको भारलाई बराबरीले सम्हाल्ने, घरलाई करुणाको भावले भण्डारण गरिराख्ने काम गरिराख्नुपर्छ ।
तीजको निहित भावनामा व्रत र कर्तव्य दुबै छन्।व्रतले आत्मा शुद्ध गर्छ भने कर्तव्यले सम्बन्धलाई मजबुत पार्छ । खाली उपवासले तीज पूरा हँुदैन । जबसम्म त्यो उपवाससँगै माया, सेवा, आदर र जिम्मेवारी मिसिदैन । त्यसैले खाली पेट व्रत बसेर घरमा कोलाहल गरि पतीको दिर्घायुको कामना र पूजापाठ गर्नु भन्दा खाएरै पतीसँग मीठो बोली, केही सहनशीलता र शान्त भाव राख्यो भनेपनि आयु अवश्य लामो हुनेछ र यो विषय दुबै दम्पती र परिवारका अन्य सदस्य सबैमा लागू हुनेछ ।
लेखक खड्का अक्षर साहित्य प्रतिष्ठानका आजिवन सदस्य तथा अनलाइन नेपाली गजलमञ्चका सचिव हुन् ।