धनगढी : सुदूरपश्चिमको मौलिक पर्व गौराको चहलपहल सुरु भएको छ । सुदूरपश्चिमेलीहरूले बसोबास गर्दै आएका अन्य क्षेत्रमा समेत मनाइँदै आएको गौरा पर्वको चहलपहल सुरु भएको हो ।
गौरा पर्व आजदेखि सुरु हुँदै छ । पर्वका लागि काम विशेषले विदेशीएका र देशभित्रै घरबाहिर रहेकाहरु थातथलो फर्किन थालेका छन् । आज बिरुडा पञ्चमीका दिन पाँच प्रकारका अन्न भिजाएर पर्वको औपचारिक सुरुवात गरिने छ ।
गौराको पहिलो दिनलाई बिरूडा पञ्चमीका रूपमा मनाउने गरिएको छ । उक्त दिन पाँचथरी गेडागुडी (गहत, गहुँ, केराउ, मास र गुराँस) लाई संकलन गरेर विधिवत् कर्मकाण्ड र फाग गाउँदै भिजाउने गरिन्छ । गौरा पूजनका लागि प्रयोग हुने अक्षता र प्रसाद स्वरूप संकलित बिरूडालाई एउटा पवित्र ताम्रपत्र, पित्तल वा उपलब्ध भाँडामा एकसाथ मिलाएर मांगलिक पूजाआजाका साथ व्रतालु महिलाहरूबाट बिरूडा भिजाउने काम गर्ने गरिएको छ ।
पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा, तलाउ वा पोखरीमा लगेर धुने गरिन्छ । सोही दिन फाग, धमारी चाचरी, सगुना, डेउडालगायतका गीत गाउनुका साथै खेल खेल्ने चलन पनि छ । सप्तमीको दिन गौरालाई गौरा घरमा भित्र्याउने गरिन्छ । त्यो दिन व्रतालु महिलाहरूले साँझ गौरा घरमा गौराको पूजा गर्ने चलन छ ।
अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै मङ्गलगानका साथमा गौरा नचाइन्छ । त्यसैक्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ । पाँच दिनसम्म गौरा महेश्वरको पूजाआजा गरी धमारी, फाग, डेउडा गीत गाउने र डेउडा खेल्ने चलन छ । पौराणिक कालमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउँ भनेर बालुवाको शिवलिङ्ग बनाएर कष्टसाध्य तपस्यापश्चात् बरदान पाएर शिवलाई पति बनाउन सफल भएको धार्मिक मान्यता छ ।
सोही अनुसार गौरा पर्व मनाइँदै आएको पाइन्छ । भगवान् शिव र पार्वतीको पूजा आरधना एवम् व्रत अनुष्ठानबाट सुस्वास्थ्य एवम् शौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।