Skip to main content

हिउदे वर्षा नहुँदा पहाडी जिल्लाको ४० प्रतिसत उत्पादन घटने प्रक्षेपण

Submitted by editor on
मौसमविद् भन्छन, ‘तीन महिनादेखि पानी परेको छैन । हिउदे वर्षा वा हिमपात तत्काल हुने सम्भावना पनि छैन । पश्चिमी बायु कमजोर देखिएकाले यस्तो भएको हो ।’
ईबिगुल संवाददाता
पानी र हिमपात नभएपछि

बाजुरा : सुदूरपश्चिममा पानी र हिमपात नभएपछि किसानहरु चिन्तीत भएका छन । तीन महिना देखि सुदूरपश्चिमा पानी परेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी बायुको प्रभाव कमजोर रहेकाले तत्काल पानी पर्ने सम्भावना पनि छैन ।

‘कार्तिकमा गहुँ छरेको हो तर पानी नपर्दा सुके जस्तै भएका छन । गोबर मल राखेको तर त्यो पनि सुकेको छ । गहुँ फस्टाएको छैन’ दोगडाकेदार गाउपालिका ८ का किसान रमेश देब भट्टले भने । ‘हिउदे वर्षा नभएपछि उत्पादनमा गिरावट आउने निश्चित छ ।’

दार्चुलाको मार्माका किसान नरेश बहादुर सिहले पनि  हिउदे वर्षा नभएका कारण गहुँ बाली पहेलो भएको बताए । ‘धेरै जसो खेतमा त गहुँ उमे्रकै छैन । उम्रेको खेतमा पनि वर्षा नभएपछि फस्टाउन सकेको छैन’ उनले भने । सुदूरपश्चिममा कार्तिक यता पानी परेको छैन । 

सुदूरपश्चिमका ७ पहाडि जिल्ला दार्चुृला, बैतडी, डडेल्धुरा, अछाम, बाजुरा, बझाङ र डोटीका ७० प्रतिसत भन्दा बढी किसान आकाशे पानीको भरमा खेतीपाती गर्छन । ‘पानी नपरेपछि कसरी फसल राम्रो हुन्छ त ?’ डडेल्धुराका किसान भवानी साउदले भने । ‘गत वर्ष आजको मिति सम्म तीन पटक हिमपात भईसकेको थियो ।’

सधैं खाद्य संकट हुने बाजुरामा हिउदे वर्षा नभएपछि भोकमरी हुने अनुमान गरिन थालिएको छ । बाजुराको कुल उत्पादन ३ महिनाका लागि मात्रै पुग्छ । त्यसैमा हिउदे वर्षा नभएका कारण उत्पादन घटेपछि भोकमरी हुनसक्ने अनुमान गर्न थालिएको हो ।

बाजुराका ८० प्रतिसत किसान आकाशे भरमा खेतीपाती गर्छन । हिँउदे बाली लगाउने समय असोज कार्तिकदेखि नै परेको खडेरीका कारण लगाइएको बालीसमेत सुक्न थालेपछि किसानहरु निरास भएका हुन । 

हिँउदेबाली लगाएलगत्तै खडेरी परेपछि किसनाहरुले लगाएको गहुँ, जौ, मसुरो लगायतका बालीनालीको उत्पादनमा निकै ह्रास आउने भन्दै किसान चिन्तित बनेका छन् । किसानहरुले लगाएका बालीनालीसंंगै अहिलेको समय फलफूलका विरुवा रोप्नका लागि खाडल बनाउनु पर्ने, खाडलमा मल ब्यवस्थापन गर्ने समय भएपनि खडेरीका कारण प्रभावित भएको कृषि ज्ञान केन्द्र बाजुरा प्रमुख मीनप्रसाद जैशीले बताए । 

बाजुरामा कुल क्षेत्रफल मध्ये २४ हजार ३ सय १९ हेक्टर खेतियोग्य जमिन छ भने २० हजार १ सय ५५ हेक्टर जमिनमा खेति गरिदै आएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । जिल्लामा १० हजार ४ सय ६० हेक्टर जमिनमा गहुँ खेती गरिदै आएको भएपनि यो बर्ष पानी नपर्दा किसानले गहु छर्न नै नपाएको बताएका छन ।

कुल उत्पादनको ११ दशमलब ३७ प्रतिशत मध्ये २० प्रतिशत अर्थात ५ हजार २ सय ४५ हेक्टर जमिनमा मात्रै सिचाईको सुविधा पुगेको छ भने बाँकी ८० प्रतिशतअर्थात झण्डै १५ हजार हेक्टर जमिनमा सिचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेतिगरिदै आएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जैशीले बताए । उनले माघमा पनि पानी नपरे ४० प्रतिशतले उत्पादन घटने बताए । 

हिउँदे बर्षा नहुँदा लगाइएको बाली पनि सुक्नथालेपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको खप्तड छेडेदह ३ का कृषक मन बहादुर रावतले बताए । सिँचाइ सुविधा नभएका जिल्लाका पूर्वीउत्तरी तथा दक्षिणी भेगका स्थानमा प्रशस्तै बाली लगाए पनि हिउँदे बर्षा नहुँदा बाली सुक्न थालेको छ । 

मौसमविद सुदर्शन हुमागाई भन्छन, ‘तीन महिनादेखि पानी परेको छैन । हिउदे वर्षा वा हिमपात तत्काल हुने सम्भावना पनि छैन । पश्चिमी बायु कमजोर देखिएकाले यस्तो भएको हो ।’ उनले पश्चिमी बायु केही दिनपछि सक्रिय हुने संकेत भने देखा परेका बताए ।