धनगढी : कञ्चनपुरमा एक युवकले आफूलाई जेनजी भनेर कुटपिट गरिएको भन्दै प्राण त्याग्नुअघि नाम लिएका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहरा अनुसार, पक्राउ पर्नेमा खेम बोहरा, अमर बोहरा, जनक धानुक र भोजराज पन्त छन् ।
उनीहरू अहिले प्रहरी नियन्त्रणमा रहेको र आत्महत्या दुरूत्साहनको अभियोगमा मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको डीएसपी बोहराले जानकारी जानकारी दिए ।
शनिबार कञ्चनपुरको वेदकोट नगरपालिका–४, बैतडा २५ वर्षीय नरेश धानुकले सामाजिक सञ्जालमा लाइभ गर्दै प्राण त्यागेका थिए । आत्महत्या गर्नुअघि उनले आफूलाई जेनजी भन्दै नांगै पारेर कुटपिट गरिएको दाबी गरेका थिए । केही व्यक्तिको नाम लिँदै आत्महत्या गर्न बाध्य भएको उनले बताएका थिए ।
‘मलाई सोसल अत्याचार भयो । म मर्दै छु । सोसल अत्याचारकै कारणले म फाँसी दिन गइरहेको छु,’ उनले आत्महत्याअघि भनेका छन्, ‘कांग्रेसको व्यक्तिले मलाई कुटपिट ग¥यो । मलाई नांगै बनाएर दौडायो, गाइज ।’
मृतककी दिदी हिरा धानुक रावलले पनि राति साढे १० बजेतिर जेनजी भन्दै रक्सी पिलाएर कुटपिट गर्दै आत्महत्या गर्न बाध्य बनाइएको दाबी गरेकी छन् ।
‘सुरुमा दारु (रक्सी) पिलाएका रहेछन्। त्यसपछि नांगो बनाएर कुटपिट गरे । त्यसरी अपमानपछि उसलाई घरमा गएर आत्महत्या गर्न बाध्य पारियो,’ उनले भनिन्, ‘मर्ने थिएन, मलाई मर्न बाध्य बनायो भनेर उनीहरूको नाम लिएको छ ।’ पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा ४ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।