Skip to main content

बाजुरामा मुख्यमन्त्रीले नै उद्घाटन गरेको स्वास्थ्य भवन अलपत्र

Submitted by editor on
पदमबहादुर सिंह
स्वास्थ्य चौकी भवन

बाजुरा : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले नै उद्घाटन गरेको बाजुराको एक स्वास्थ्य चौकी भवन अलपत्र परेको छ । बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ७ बड्लेलीचौरमा निर्माण भएको आधारभुत्त स्वास्थ्य भवन अलपत्र परेको हो । 

स्थानीयले अधुरै यक्त भवनको २०८० बैशाख १९ गते मुख्यमन्त्री शाहलाई उद्घाटन गराएका थिए । आधारभुत्त स्वास्थ्यभवन संचालनमा नआएपछि साविकको झाली ब्रथिङ सेन्टरबाट सेवाप्रबाहमा समस्या भएको ब्रथिङ सेन्टरमा कार्यरत अहेव मीन कटुवालले बताए । ‘सानो भवनको एकै कोठाबाट ओपीडी सेवा, गर्भवती सेवा, नवजातशिशु स्याहार सहितका सवै सेवा दिनु  परेको छ । निर्माण भएर मुख्यमन्त्रीले नै उद्घाटन गरिएको भवन अलपत्र छ’ कटुवालले भने ।

सुत्केरी भई सकेपछि २४ घण्टासम्म आरामका लागि प्रत्यक्ष स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्छ । ठाउ अभावका कारण एक घण्टा पनि नराखेर घर पठाउनु पर्ने समस्या रहेको उनले बताए । ‘सुत्केरी र अन्य सेवा एकै ठाउबाट दिदा संक्रमण हुने सम्भावना हुन्छ’ कटुवालले भने ।

३८ लाखको लागतमा उक्त भवन उपभोक्ता समतिमार्फत २०७६ साल निर्माण सुरु गरिएको थियो । उपभोक्ता समितिले सम्झौता अनुसार काम नगरेपनि स्थानीयले मुख्यमन्त्रीलाई उद्घाटन गराएका थिए । 

उपभोक्ता समितिले १५ लाख बरावरको काम गरेको प्राबिधिकले बील बनाए पनि ११ लाख मात्रै भुक्तानी गरेपछि भवन पुुर्ण हुन नसकेको बुढिगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भुवन सिंह केशीले बताए । 

उक्त भवनमा नगरपालिकाले मर्मतकालागि पनि बजेट दिएको थियो । २०७७ सालमा मर्मतका लागि ११ लाखमा जगतस्मारीका जेवीनिर्माण कम्पनीले ठेक्कामार्फत काम सुरु गरेको भएपनि काम पुरा नहुदा अलपत्र अवस्थामा रहेको छ । 

मर्मत ठेक्कापाएको कम्पनीका सञ्चालन सुरत शाहले बील उठाउन नगरपालिकाबाट प्राबिधिक नपठाई दिएका कारण आफ्नो कामको भुक्तानी रोकिएको । ११ लाखको कामको जिम्मा लिएकोमा ५ लाख भुक्तानी लिईसकेको र बाकीको प्राविधिक नै नआएर विल नउठाई दिएको उनले बताए ।

बुढिगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत्त नरेन्द्र नाथले आफु आउनुुभन्दा अघिको काम भएकाले त्यसबारे आफुलाई जानकारी नभएको बताए ।