Skip to main content

एमाले कैलालीमा अधिवेशनको चटारो, नेतृत्वका लागि ४ जनाको दाबी

Submitted by editor on
शिवराज भट्ट
४ जना नेताहरुले आकांक्षा ब्यक्त

धनगढी : नेकपा एमाले कैलालीमा एकाएक चुनावि सरगर्मी बढेको छ । फागुनको ६ र ७ गते जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको सुखडमा एमाले कैलालीको नवौं जिल्ला अधिवेशन घोषणा भएपछि चुनावी सरगर्मी बढेको हो । सुखडको अधिवेशन उदघाटनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली आउने तय भएको छ । 

नेकपा एमाले कैलालीको नेतृत्वका लागि ४ जना नेताहरुले आकांक्षा ब्यक्त गरेका छन । नेकपा एमालेका कार्यबाहक अध्यक्ष दुुर्गाप्रसाद जोशी आफै अध्यक्ष पदका दाबेदार छन । गत अधिवेशनमा उपाध्यक्ष जितेका जोशी, अध्यक्ष रतन थापालाई पार्टीले कारवाही गरेपछि कार्यबाहक अध्यक्ष बनेका थिए ।

‘कार्यबाहक भएर २ वर्ष जति हुन थ्याल्यो, साथीहरुले नेतृत्व दिन भनिरहनु भएको छ, मेरो पनि ईच्छा छ’ उनले भने । जोशी नेकपा एमालेबाट धनगढी उपमहानरको मेयर, प्रदेश सभा सदस्य लगायतका पदमा चुनाव लडिसकेका नेता हुन ।

एमालेमा वर्तमान जिल्ला सचिव डेजी पाण्डे पनि नेतृत्वका दाबेदार छन । २०५७ सालमा कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति पछि लोकप्रिय बनेका उनी गत अधिवेशनमै नेतृत्वका दाबेदार थिए । उनी गत अधिवेशनमा सचिवमा जितेका नेता हुन । 

‘म यसअघिको अधिवेशनमै पार्टीको नेतृत्वको दाबेदार हुँ । तर साथीहरुले सचिवमा बस्न आग्रह गरे । अब पार्टीको नेतृत्वका लागि अगाडि बढेको छुु’  पाण्डेले भने । ‘मेरो प्रयास जिल्लामा १ नम्बरको पार्टी बनाउनेमा रहन्छ ।’

अर्का एमाले नेता यज्ञराज ढुंगाना पनि नेतृत्वका दाबेदारका रुपमा देखिएका छन । २०६३ सालमा कैलाली बहुमुखी क्याम्पसका सभापति भई सकेका ढुंगाना अनेरास्ववियुका सुदूरपश्चिम ईञ्चार्ज र पार्टीको प्रदेश कमिटि सचिवालय सदस्य भईसकेका छन । ‘कैलालीमा गत निर्वाचनमा पार्टीको विरासत गुमेको छ । मेरो नेतृत्वले त्यो विरासत पुनः कायम गर्ने छ । त्यसैले मेरो उमेदवारी हो’ उनले भने ।

बर्तमान कार्यसमितिका उप सचिव ममता प्रसाद चौधरी पनि नेतृत्वका लागि अगाडि आएका छन । चौधरी घोडाघोडी नगरपालिकाका निवर्तमान मेयर पनि हुन । ‘पार्टीलाई  विधि विधान अनुसार अगाडि बढाउन र कैलालीमा नेकपा एमालेलाई बलियो शक्ति बनाउन मेरो उमेदवारी हो’ चौधरीले भने ।

नेकपा एमालेको नवौं अधिवेशनमा ५६० भन्दा बढी प्रतिनिधिहरुले भाग लिनेछन । खुला तर्फ ४० सदस्य बराबर १ प्रतिनिधि, आदीबासी जनजाती थारु र दलित क्लस्टरमा २५ जना बराबर १ प्रतिनिधि चयन हुनेछन । 

नेकपा एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिव, उप सचिव २ जना (महिला र खुला) गरी ५ जना पदाधीकारी रहने ब्यवस्था छ । जिल्ला समिति १५० सदस्यीय रहने नेकपा एमालेले जनाएको छ । 

पदाधीकारीमा ईच्छा भएका उमेदवारले यसपाली फागुनको ३ गते नै पार्टीका जिल्ला ईञ्चार्ज समक्ष इच्छापत्र बुुझाउनुपर्ने र त्यसमा ४ र ५ गते छलफल भएर सकेसम्म सर्वसम्मत गराईने प्रयास हुने नेकपा एमालेले जनाएको छ ।