Skip to main content

सुदूरपश्चिम प्रदेश सभामा सत्ता पक्षकै सांसदहरुले गरे सरकारको चर्को विरोध

Submitted by editor on
ईबिगुल संवाददाता
प्रदेश सभाको बैठक

धनगढी : सुदूरपश्चिम प्रदेशमा सत्ता पक्षकै सांसदहरुले सरकारको चर्को विरोध गरेका छन । सोमबार बसेको प्रदेश सभाको बैठकमा सत्ता गठबन्धनमा रहेका काँग्रेस, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीकै सांसदहरुले सरकारको चर्को विरोध गरेका हुन । 

सांसदहरुले चरम असन्तुुस्टी प्रकट गरेपछि सभामुखले ७ दिनभीत्र जवाफ दिन सरकारलाई रुलिङ समेत गरेका छन । प्रदेश सभा सदस्यहरुका लागि सभामुख भीम बहादुर भण्डारीले सुन्य समय उपलब्ध गराएका थिए ।

नेकपा माओवादी केन्द्रका उप नेता अक्कल रावलले सरकारले सदनमा गरेका बाचाहरु पुरा नगरेको अरोप लगाए । उनले, बजेटका बेला आएका असन्तुष्टिहरुलाई सम्बोधन गर्ने भनेर सरकारले प्रतिवद्धता गरेको तर अहिले त्यसबारे कुनै जानकारी नगराएको उनको आरोप थियो । रावलले सदनमा सरकारले जानकारी गराउन माग गरे ।

नेकपा माओवादी केन्द्र सामाजिक विकास मन्त्रालय र  उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयमा २ जना फुल मन्त्री र एक राज्यमन्त्री सहित सरकारमा छ ।

नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले पनि सरकारले किसानका समस्या नबुुझेको आरोप लगाए । उनले अहिलेसम्म किसानहरुले बाढीमा भएको नोक्सानको राहत समेत नपाएको आरोप लगाए । 

उनले भौतिक पुर्वाधार मन्त्रालयले हालै ठेक्का लगाएका धनगढीका १९ वटा सडकका बारेमा पनि आफुहरुसँग छलफल नगरिएको आरोप लगाए । उन्मुक्ति भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय सहित सरकारमा छ ।

सत्ताका सारथी दलहरु मात्रै होईन, सरकाको नेतृत्व सम्हालेको नेपाली काँग्रेसले पनि सरकारको खुलेर विरोध गरेको छ । स्वास्थ्यका उपकरण खरिदमा भ्रष्टाचार हुँदा पनि सरकार नबालेको काँग्रेस सांसद प्रकाश बहादुर बमले आरोप लगाए । ‘२ करोडमा आउने स्वास्थ्यका उपकरणहरु ९ करोडमा खरिद हुदैछन । कमिशनका लागि त्यस्तो भएको हो । मन्त्रीपरिषदले त्ससको छानबिन गर्नुुपर्छ’ सांसद बमले भने ।
प्रतिपक्षमा रहेको नेकपा एमालेले पनि सरकार भएको अनभुती नभएको भन्दै  विरोध गरेको छ । उसले नीति तथा कार्यक्रम अनुसार नचलेको आरोप लगाएको छ । ‘सरकार छैन भने झण्डावाला गाडिहरु गुडेकै छन, छ भनुभने कुनै काम भएको छैन’ एमाले सांसद विर बहादुर थापाले भने ।

एमालेका अर्का सांसद धर्मराज पाठकले विचौलिया र दलालहरु लगाएर प्रदेश सरकार अनुदान वितरण र कमिशनमा डुविरहेको आरोप लगाए । एमालेबाट सांसदहरु सन्तोष शर्मा थापा, सुरेन्द्र पालले पनि सरकारको विरोध गरेका थिए । 

सदनमा सत्ता पक्षकै दलका सांसदहरुको चर्को विरोध आएपछि सभामुख भीम बहादुर भण्डारीले सरकारलाई सदनमा उठेका प्रश्नहरुको एक हप्तभीत्र जवाफ दिन रुलिङ गरेका छन ।