Skip to main content

आर्थिक मामिला मन्त्री र सचिवालयको भ्रमण खर्च १४ लाख

Submitted by editor on
शिवराज भट्ट
आर्थिक मामिला मन्त्री र सचिवालयको भ्रमण खर्च १४ लाख

धनगढी : सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेश बहादुर शाही र उनको सचिवालयले संघीय राजधानी र बाजुरा गएबाफतको झण्डै १४ लाख रकम टिकट र भत्ता बुझेको छ । २०७९ सालको फागुन देखि २०८० को माघ सम्म यती रकम बुझेको हो ।

सबैभन्दा बढी मन्त्री शाहीले २१ पटक काठमाण्डौं गएको ५ लाख ७६ हजार ६६६ रकम टिकट र भत्तावाफत बुझेका छन । मन्त्री शाहीले एकै पटकको काठमाण्डौं भ्रमणको कम्तीमा साढे १८ हजार देखि ४० हजार सम्म बुझेका छन । २०८० सालको बैशाख ४ गते देखि ११ गते सम्मको ८ दिनको उनले ४० हजार ४२५ बुझेका हुन ।

सुरक्षार्थ खटिएका उनका पिएसओहरुले पनि झण्डै साढे ४ लाख भत्ता बुझेका छन । उनका पिएसओहरुले २०७९ को फागुन देखि २०८० को माघ सम्म विभिन्न मितिमा काठमाण्डौं गएको मात्रै ३ लाख ५० हजार २३७ र ९६ हजार ७४० रकम बुझेका छन । 

उनका पिएसओमा दिपक विष्ट र हरिशंकर जोशी रहेका छन । दुबै जनाले काठमाण्डौं भ्रमणको मात्रै झण्डै ४ लाख ४७ हजार रकम बुझेका छन । पिएओहरुले बाजुरा भ्रमणको मात्रै ५१ हजार भ्रमण भत्ता बुझेका छन ।

मन्त्रीका स्वकीय सचिवहरु पनि १२ पटक काठमण्डौं गएका छन । स्वकीय सचिव विकास जंग शाहीले काठमाण्डौं गएवाफतको १ लाख ६१ हजार बुझेका छन भने उनका अर्का स्वकीय सचिव धिरेन्द्र बहादुर शाहीले साढे ७६ हजार रकम बुझेका छन ।

आर्थिक मामिला मन्त्री शाहीले ११ महिनामा २३ पटक काठमाण्डौंको सयर गरेको समाचार सार्वजनिक भएको थियो । उनले मुख्यमन्त्री कमल बहादुर शाहको काठमाण्डौं गएको रेकर्ड ब्रेक गरेका थिए । 

मुख्यमन्त्री कमल बहादुर शाहले २२ पटक काठमाण्डौं भ्रमण गर्दा आर्थिक मामिला मन्त्रीले उनको भन्दा एक पटक बढी २३ पटक काठमाण्डौं भ्रमण गरेका हुन  ।

आर्थिक मामिला मन्त्रालयले मन्त्री शाहीले २१ पटक मात्रै काठमाण्डौं गएको विवरण दिएपनि, उनको पिएसओहरुको भ्रमण हेर्दा उनको काठमाण्डौं भ्रमण २३ पटक भएको देखिन्छ ।

शाहीले आर्थिक मामिला मन्त्री भएपछि फागुनको २२ गतेदेखि संघीय राजधानीको भ्रमण सुरु गरेको विवरणमा देखाईएको छ । २०७९ सालको फागुन २२ गते देखि २०८० माघको ८ गतेसम्म उनले २१ पटक काठमाण्डौंको भ्रमण गरेका देखाईए पनि उनको पिएसओको विवरण हेर्दा उनी २३ पटक काठमाण्डौं गएको देखिन्छ ।