Skip to main content

यस्तो रहेछ, बाजुराको बडिमालिकामा महिला कर्मचारीबीच कुटाकुट हुनुको कारण

Submitted by editor on
ईबिगुल संवाददाता
कुटाकुट

बाजुरा : बाजुराको बडीमालिका नगरपालिकामा कर्मचारीबीच कुटाकुट भएको घटनाको भिडियो सामाजिक सञ्जालमा भाईरल छ । पालिकाको मेड्पा भन्ने कार्यक्रममा कार्यरत दुई महिला कर्मचारीबीच कुटाकुट भएको हो । 

मेड्पा परियोजना प्रमुख रन्जीता शाही र अर्का कर्मचारी कविता सूर्यबंशी बीच परियोजनाकै बारेमा आपसी विवाद बढेपछि कुटाकुट भएको बताईएको छ । दुबैजना एउटै परियोजना र एउटै शाखामा कार्यरत कर्मचारी हुन् । 

कार्यसम्पादन मूल्याकन र दैनिक कार्ययोजना बारे छलफल भइरहँदा कस्ले के जिम्मा लिने र के बनाउने भन्ने विषयमा आपसमा कुरा नमिलेपछि विवाद बढेको हो । विवादले पछि अर्को रुप लिएको छ । कार्यकक्षमा पहिला कविता सूर्यबंशीले जहिलेपनि हेपेर कुरा गर्ने भन्दै सुरुमा मुक्का प्रहार गरेको र पछि प्रतिवादमा रन्जीता शाहीले पनि प्रहार गरेको पाइएको छ ।

कुटाकुट पछि सूर्यबंशीलाई बढी चोट लागेको छ । दुबै जनाले एक आपसमा कुटाकुट गरेपनि रञ्जीताको प्रहारले सूर्यबंशीलाई बढी चोट लागेको बुझीएको छ । प्रमुख प्रशासीय अधिकृत बमबहादुर केसीले केही कर्मचारी र विवादमा संलग्न दुबै कर्मचारीलाई सँगै राखेर मिलाएका थिए । 

दुबै जनाले मिलेर काम गर्ने, एकले अर्कालाई सम्मान र सहयोग गर्ने सहमति पनि भएको थियो । सहमतिको बसाइ भइरहेकै बेला बीचमै एकाएक सूर्यबंशी ढलेपछि उपचारका लागि बाजुरा जिल्ला अस्पताल लगिएको थियो । स्वयम रञ्जीता शाही सहीतका कर्मचारी गएर उपचार गराएको श्रोतको दाबी छ ।

कुटाकुट भएकै बेला केही कर्मचारीले विवाद समाधान तर्फ नलागि उल्टै भिडियो खिच्ने काम गरेको पाइएको छ । भिडियो सार्वजनिक भएपछि घटना सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । घटना भएको दिन नगर प्रमुख अमर खड्का र उपप्रमुख नन्दा कुमारी थापा जिल्ला बाहिर थिए । 

दुबै जनाले सामाजिक सञ्जालमा भिडियो आइसकेपछि मात्रै जानकारी पाएको बताएका छन । राती नै केही व्यक्तिको उक्सावट र मिलोमतोमा सूर्यबंशीलाई उचालेको आरोप एक पक्षले लगाएका छन् । सहमति भएर अस्पतालमा उपचारका लागि सँगै गएको व्यक्तिलाई राती नै अर्को परिस्थिति बनाएको रञ्जीता शाहीले बताएकी छन् । 

‘आपसमा झगडा भएकै हो । सुरुमा मुक्का प्रहार गरेपछि मैले पनि प्रतिवाद गर्दा बढी चोट लागेको हुन सक्छ, तर उपचार गर्ने र मिलेर काम गर्ने हाकिमसाब सहीत कर्मचारीसँगको बसाइमा सहमति भइसकेको विषयलाई फरक ढंगले उठाईएको छ’ शाहीले भनिन ।

कविता सूर्यबंशीले भने आफूमाथि एकोहोरो प्रहार गरेर घाइते बनाएको आरोप लगाएकी छन् । उपचार नै गर्नु पर्ने अवस्थासम्म पुर्याएको सूर्यबंशीको दाबी छ । उनले न्यायीक समितिमा पनि उजुरी दिएको तर सुनुवाई नभएको आरोप लगाएकी छन् । 

कमजोरी कस्को हो ? दोषीले सजाय र निर्दोशले न्याय पाउने गरि छानवीन गरिने नगर प्रमुख अमर खड्काले बताएका छन् ।