Skip to main content

बेलबहादुर रानालाई बधाईको ओईरो, मुख्यमन्त्री भन्छन ‘सरकार विस्तारको कुनै तयारी छैन’

Submitted by editor on
शिवराज भट्ट
बेलबहादुर राना

धनगढी : कञ्चनपुर  निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बेल बहादुर राना शनिबार बेलुकी देखि सामाजिक सञ्जालमा चर्चामा छन । 

सामाजिक सञ्जालमा उनका आफन्त र शुभचिन्तकहरुलाई प्रदेशको भौतिक पुर्वाधार राज्यमन्त्री भएको भन्दै बधाई दिन भ्याईनभ्याई छ । प्रदेश सभा सदस्य बेल बहादुर रानाको मालाहालेका चुनाव जितेका ताकाको फोटो हालेर उनले राज्यमन्त्री भएसरह देखिने गरी बधाई आईरहेको हो ।

तर बेलबहादुर राना भौतिक पुर्वाधार राज्यमन्त्री हुने वा नहुने बारे प्रदेश सरकारलाई थाहा छैन । मुख्यमन्त्री कमल बहादुर शाहले यसबारे कुनै जानकारी नै नआएको बताए । ‘मैले पनि सामाजिक सञ्जालमा देखे तर त्यसको कुनै तयारी छैन । राना जी आफै काठमाण्डौंमा हुनुहुन्छ भन्ने सुनेको छुु’ मुख्यमन्त्री कमल बहादुर शाहले भने ।

उनले अहिले प्रदेश सरकार विस्ताको कुनै तयारी नरहेको प्रष्ट पारे । ‘प्रदेश सरकार विस्तको तत्काल कुनै योजना छैन’ मुख्यमन्त्री शाहले भने । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नागरक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीको सरकार छ ।

भौतिक पुर्वाधार मन्त्रीमा नेपाली काँग्रेसका प्रदेश सभा सदस्य प्रकाश बहादुर देउवा छन । रानाले उनकै मन्त्रालयका राज्यमन्त्री भएको भन्दै बधाई खाईरहेपनि, यसबारेमा आफुलाई पनि कुनै जानकारी नभएको भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले बताए ।
रानालाई यसबारेमा प्रतिक्रियाका लागि फोन गर्दा उनको फोन स्वीचअफ छ । 

सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र, उन्मुक्ति र समाजवादीले पनि  सरकारको कार्यशैली मन पराई रहेका छैनन । नेकपा माओवादी केन्द्रले त काँग्रेस नेतृत्वको सरकारले दलीय हैसियत अनुसार मन्त्रालय नदिएको र नेपाली काँग्रेसले पेलेर लगिरहेको गुनासो गर्दै आएको छ ।

गठबन्धनमा सहभागि तीन वटै दलका नेताहरुले आजभोलीमा बैठक बसेर प्रदेश सरकारको कार्यशैलीका बारेमा आफुहरुको संयुक्त धारणा सार्वजनिक गर्ने तयारी गरेका छन । गठबन्धनका अरु दलहरु नै काँग्रेस प्रति असन्तुुष्ट भईरहेका बेला काँग्रेसकै रानालाई राज्यमन्त्रीमा नियुक्त गर्ने सम्भावना न्युन छ ।

नेकपा माओवादी केन्द्रले काँग्रेससँग दलीय हैसियतका बारेमा कुरा गर्न नसकेको र काँग्रेस परस्त भएको भन्दै आफ्नै संसदीय दलका नेता खगराज भट्टलाई हटाएर मान बहादुर धामीलाई दलको नेता चयन गरेका थिए । 

अहिले बमुमतमा रहेका माओवादीका प्रदेश सभा सदस्यहरु सरकारमा  रहेका आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने, उनीहरुको ठाउँमा नयाँ अनुहार पठाउने र नेतृत्वमा रहेको काँग्रेससँग दलीय हैसियतका आधारमा मन्त्रालय बाँडफाड गर्न तयारीमा रहेका छन । 

माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरुले, प्रदेश सभामा दोस्रो ठुलो दलका हैसियतले पार्टीको नेतृत्व गरेर सरकारमा जाने प्रदेश सभा सदस्यलाई पनि दोस्रो बरियताको मन्त्रालय दिनुपर्ने माग राख्ने तयारी गरेको छ ।

सत्ता गठबन्धनका उम्मेदवार रानाले एमाले–राप्रपा गठबन्धनका उम्मेदवार सुरेन्द्र विष्टलाई चार हजार सात सय १३ मतान्तरले हराउँदै प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।