Skip to main content

कञ्चनपुरमा युवकको हत्या आरोपमा वडाध्यक्ष सहित ६ जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
कञ्चनपुर


कञ्चनपुर  ः कञ्चनपुरमा एक युवकको हत्या आरोपमा वडाध्यक्ष सहितका ६ जना पक्राउ परेका छन् । गत २४ कात्तिकमा झुण्डिएको अवस्थामा मृत भेटिएका बेलौरी नगरपालिका–९ का १८ वर्षीया अनुश रानाको हत्या अभियोगमा परेको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले बेलौरी नगरपालिका–९ का वडाध्यक्ष किसनसिंह राना समेतका ६ जनालाई पक्राउ गरिएको जानकारी दिए । यस्तै सुकदेव राना, भंगी राना, अनिरुद्र राना, दुक्खो राना र सुरज रानालाई पनि पक्राउ गरिएको डाँगीले बताए ।

मृतकका बुवाले वडाध्य क्षसहितका ६ जनाको समूहले छोराको हत्या गरेर आत्महत्या देखाउन रुखमा झुण्ड्याइएको भन्दै इलाका प्रहरी कार्यालय बेलडाँडीमा किटानी जाहेरी दिएका थिए । सोही किटानीका आधारमा अनुसन्धानका लागि उनीहरु सबैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आइतबार अनुसन्धानका लागि जिल्ला अदालतबाट १० दिनको म्याद थपिएको छ । किटानी जाहेरीमा उल्लेखित ६ जना नै घटना भएको दिन मृतक रानासँगै रहेको बुझिएको प्रहरीको भनाई छ । उनीहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।