Skip to main content

हरेक वर्ष अभाव हुने बाजुरामा यसवर्ष शैक्षिक सत्रअगावै पाठ्यपुस्तक

Submitted by editor on
ईबिगुल संवाददाता
हरेक वर्ष अभाव हुने बाजुरामा यसवर्ष शैक्षिक सत्रअगावै पाठ्यपुस्तक

धनगढी : हरेक वर्ष पुस्तक अभाव हुने बाजुरामा यसवर्ष भने नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै पाठ्यपुस्तक पुगेका छन । हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिक सत्र सुरु हुनु एक महिना अगावै पाठ्यपुस्तक पाएका हुन् ।

जिल्लाको तल्लो क्षेत्रका बुढीगंगा, त्रिवेणी र बडिमालिका नगरपालिकाका साथै खप्तड छेडेदह र गौमूल  गाउँपालिकाका सामुदायिक विद्यालयमा जनक शिक्षा सामग्री केन्द्रको आधिकारिक बिक्रेता करुणा पुस्तक पसलले पाठ्यपुस्तक खरिद गरी पु¥याएको हो ।

पूर्वी उत्तरी भेगका चार पालिकाका सामुदायिक विद्यालयमा पनि पाठ्यपुस्तक वितरण गर्न थालिएको छ । यहाँका बुढीनन्दा नगरपालिका तथा हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकामा रारा कर्णाली पुस्तक पसल कोल्टीले जिम्मेवारी लिएसँगै वितरण सुरु गरिएको जनाइएको छ ।
प्रत्येक वर्ष सामुदायिक विद्यालयले पाठ्यपुस्तक अभावका कारण पठनपाठनमा समस्या हुने गरेकामा यस वर्ष शैक्षिक सत्र सुरु हुनु एक महिनाअगावै पुस्तक पाइएको पशुपति माविका प्रधानाध्यापक दयाराम जोशीले बताए ।

शैक्षिक सत्र सुरु हुनुभन्दा अगावै पाठ्यपुस्तक पुगेको भन्दै केही अपुग भएमा विद्यार्थी भर्नापश्चात सोहीअनुसार पुनः माग गर्न सकिने प्रअ जोशीले बताए । समयमै पुस्तक पुगेसँगै शैक्षिक सत्र सहज रूपमा सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

विगतका वर्षमा शैक्षिक सत्र सुरु भएको महिनौँ बितिसक्दा पनि विद्यालयमा पुस्तक अभाव हुने गरेको थियो । आगामी शैक्षिक सत्र ०८१ का लागि भने विद्यालयमा चैत १५ गते नै पुस्तक पुगिसकेको प्रअ जोशीले जानकारी दिए ।

जनकशिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय धनगढीले यही चैत १३ गते सुदूरपश्चिम प्रदेशको बाजुराबाट वितरण सुरु गरेको थियो । जिल्लामा एक लाख १० हजार ३७ थान पाठ्यपुस्तक पुगिसकेको कार्यालयका प्रमुख रामबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार बाजुरामा आठ बिक्रेतामध्ये  ७ जनाले पुस्तक लिइसकेका छन् भने एकजना लिने क्रममा छन ।

बाजुरामा ०८१ का लागि अनुमानित एक लाख २७ हजार आठ सय ६ थान पाठ्यपुस्तक रहेको कार्यालयका प्रमुख कुँवरले बताए । सोमध्ये ८६ प्रतिशत पुस्तक जिल्लामा पुगिसकेका र बाँकी केही दिनमा पुग्ने उनले जानकारी दिए ।