Skip to main content

बझाङ प्रदेश सभा निर्वाचन–पछिल्लो गठबन्धनसँग पराजयको बदला दिने दाउमा एमाले

Submitted by editor on
प्रताप ओली
बझाङको प्रदेश सांसदको उपनिर्वाचन

बझाङ : बझाङमा उपनिर्वाचनको प्रचारप्रसार उत्कर्षमा पुगेको छ । १५ गते हुने निर्वाचनका लागि दलहरुले प्रचारप्रसार तिव्र पारेका छन् । सुदूरपश्चिम सरकार गठनको अंकगणितमा फरक पार्न सक्ने भएकाले पनि बझाङको प्रदेश सांसदको उपनिर्वाचन महत्वका साथ लिइएको छ ।

मुख्य दलहरूले केन्द्रीय नेता खटाएर आफ्नो उम्मेदवारको प्रचारप्रसार तीव्र बनाएका छन । चैत १२ गते राती १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले उमेदवारहरु अन्तिम कसरतमा जुटेका छन । कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको २०८० को असारमा सवारी दुर्घटनामा निधन भएपछि बझाङ १ (१) प्रदेशसभाको उपनिर्वाचन हुन लागेको हो । कांग्रेसले मृतक सिंहका छोरा अभिषेक बहादुरलाई उम्मेदवार बनाएको छ । उनलाई जिताउन पूर्वमन्त्री एनपी साउद, केन्द्रीय सदस्य रणबहादुर रावललगायत कांग्रेस नेताहरू घरदैलो र भेटघाटमा व्यस्त छन् । 

यस्तै नेकपा एमालेले पनि जिल्ला अध्यक्ष दमन भण्डारीलाई उम्मेदवारका रुपमा अघि सारेको छ । उनलाई जिताउन एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री कर्णबहादुर थापा, पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्र रावल, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीलगायत नेताहरू प्रचारमा लागेका छन् । 

नेकपा माओवादी केन्द्रले यस निर्वाचन क्षेत्रमा १० वर्षपछि संविधानसभा सदस्य जनक बुढालाई उम्मेदवारका रुपमा अघि सारेको छ । मतदाता कम भएपनि अस्तित्व जोगाउन कार्यकर्ताको मताधिकार प्रयोग गरि हौसला बढाउन माओवादी पनि कसरत गरिरहेको छ । 

माओवादीले पनि पुराना सांसद तथा नेताहरु खटाएर मतदाता रिझाइरहेको छ । यता नेकपा एकीकृत समाजवादीले पनि एमालेबाट अलग्गिएका पुराना नेता दिलबहादुर सिंहलाई जिताउन पुरानो साइनो जोड्दै विशेष गरि एमाले तथा सबै पार्टीबाट मत संकलन गर्दै जित्ने रणनीति बनाएको छ । समाजवादीका उम्मेदवार जिताउन केन्द्रिय सदस्य तथा पूर्व संघिय मन्त्री शेरबहादुर कुँवर, सुदूरपश्चिम इन्चार्ज गरिमा शाह लगायत बझाङ पुगेका छन् । 

विगतमा एमालेको लालकिल्ला रहेको बझाङमो २०७९ को निर्वाचनमा कांग्रेस, माओवादी र समाजवादीसहितको वाम–लोकतान्त्रिक गठबन्धन जितेको थियो । जिल्ला अध्यक्ष दमन भण्डारीलाई जिताएर एमाले त्यो हारको बदला लिने दाउमा छ । 

एमालेले अहिले उम्मेदवार भण्डारीलाई  विवेक प्रयोग गरि उठाएको र लोकप्रिय पनि भएकाले जित्ने दाबी गरेको छ । एमालेका तर्फबाट उम्मेदवार बनेका भण्डारी अहिले जिल्ला कमिटी बझाङका अध्यक्ष रहेका छन् । उम्मेद्वार भण्डारी पार्टीभित्र र अन्य पार्टीमा पनि मिलनसार र ईमानदार छबि बनाएका नेता हुन ।

यस्तै राष्ट्रिय मातृभूमी पार्टीबाट विनोद थापा, नेमकिपाबाट खगेन्द्र शाही र नेसनल रिपब्लिकबाट कमल घर्तीमगर, जनता समाजवादीबाट रामबहादुर जाग्री, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिपकबहादुर खड्का र जनमत पार्टीका सुशीलादेवी विष्ट पनि प्रचारमा छन ।

कम्युनिष्टबीच मत काटिने चिन्ता
मुख्य प्रतिस्पर्धी ठानिएका कांग्रेस, एमालेलाई माओवादी र एकीकृत समाजवादीले मत काट्ने चिन्ता एकातिर छ भने बलियो मानिएको एमालेलाई समाजवादीले भोट घटाउने अर्को चिन्ता छ । नेकपा एकीकृत समाजवादीको आफैमा मतदाता नरहेको र पुरानो एमालेबाट छुट्टिएको नेता भएकाले केही भोट काट्ने एमालेका जिल्ला कमिटी सचिव सुरतबहादुर सिंहले बताए । 

पार्टी विभाजनअघि जिल्लामा एमालेको नेतृत्व गरेका सिंहलाई एमालेबाट राम्रै मत आउने अनुमान छ । कांग्रेसका उम्मेदवार अभिषेक सिंहकै वडावासी रहेको र त्यहाँ राम्रो पकड भएकाले सिंहलाई कांग्रेस समर्थकहरूबाट पनि मत आउने समाजवादीका सुदूरपश्चिम प्रदेश सदस्य सोनु सिंहले दाबी गरे ।

माओवादी केन्द्रका मतदाताले यो क्षेत्रमा १० वर्षपछि आफ्नो चुनाव चिह्नमा मत हाल्न पाउने भएका छन् । २०७० को संविधानसभा निर्वाचनमा आफ्नो उम्मेदवारी दिएको माओवादीले त्यसयता यो निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको थिएन । 

माओवादीका मतदाताले गठबन्धन भएका कारण २०७४ मा एमाले र २०७८ मा कांग्रेसलाई मतदान गरेका थिए । माओवादीबाट उम्मेदवार जनक बुढाले आफू बझाङी जनतासँग नजिक रहेको दाबी गरे । उनले भने, ‘संविधानसभा सदस्यदेखि प्रधानमन्त्रीको टीममा बसेर काम गरेको अनुभव छ । जिल्लाका लागि विगतमा पनि मैले चैनपुर ताक्लाकोट सडक, सेतीका कैयन पक्की पुल बनाउनेदेखि सशस्त्र जनआन्दोलनको योद्धा भएकाले म नै सबैभन्दा बलियो उम्मेदवार हो ।’

भेगीय रुपमा मतविभाजन हुनसक्ने 
यस उपनिर्वाचनमा मुख्य उम्मेदवार दुई पालिकाबाट रहेकाले पनि भेगीय राजनीति हुनसक्ने सम्भावना छ । जयपृथ्वी नगरपालिकाबाट नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह र राप्रपाका किशोर खड्का उम्मेदवार छन् भने छबिसपाथिभेरा गाउँपालिकाबाट नेकपा एमालेका उम्मेदवार दमन भण्डारी, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा, जनता समाजवादी पार्टीका उम्मेदवार रामबहादुर जाग्री प्रतिस्पर्धामा छन् । 

स्थानीय तह निर्वाचन जस्तै नभए पनि उम्मेदवारसँग नाता सम्बन्धका कारण पनि सम्बन्धित भुगोलका मतदाता आफ्नै क्षेत्रका उम्मेदवारलाई मतदान गर्न सक्ने अनुमान लगाईन थालिएको छ । २०७९ को निर्वाचनमा आफ्नै दलबाट अन्तर्घात भएको कांग्रेस, एमालेका नेता कार्यकर्ताहरूले सार्वजनिक रूपमा बताउँदै आएका छन् । यो निर्वाचनमा पनि त्यसो हुन सक्ने शंका दुवै दलको छ ।

गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धन गरेर चुनाव लडेका थिए । गठबन्धनका तर्फबाट उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए । 

२०४८ पछिका निर्वाचनमा यो क्षेत्रमा कांग्रेसका तीन र एमालेका उम्मेदवारले चार पटक जितेका थिए । विगतको गठबन्धन भत्किएकाले निर्वाचन परिणाम आँकलन गर्न सहज नभएको शिक्षक दिपेन्द्र खड्का बताउँछन् ।  यहाँ २०४८ र २०५६ साल संसदीय निर्वाचनमा कांग्रेस विजयी भएको थियो । त्यसयता नेकपा एमाले र पछिल्लो पटक नेकपा एकीकृत समाजवादी विजयी भएका छन् । 

२०५१ र २०६४ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट भानुभक्त जोशी निर्वाचित भएका थिए । २०७४ सालमा पनि एमालेकै भैरवबहादुर सिंह निर्वाचित भएका थिए । अहिले नेकपा एकीकृत समाजवादीमा रहेका भानुभक्त जोशी २०७९ सालको निर्वाचनमा फेरि विजयी भए । उनले एमाले उम्मेदवारलाई पराजित गरेका थिए ।

उक्त निर्वाचनको समानुपातिक मत हेर्दा बझाङमा एमाले पहिलो छ । एमालेले २२ हजार २०४ मत पाएको थियो । कांग्रेसले १६ हजार ६५३ मत पाउँदा माओवादी केन्द्रले ८ हजार १५ र नेकपा एकीकृत समाजवादीले ७ हजार ८३३ मत पाएका थिए ।

गत निर्वाचनमा माओवादी, कांग्रेस र समाजवादीको गठबन्धनमा एमाले, प्रतिनिधिसभामा ९ सय ९५ मतले र प्रदेशसभामा करिब ३ हजार मतले पराजित भएकाले यसपाली अलग अलग चुनाव लडेकाले एमालेले जित्ने दाबी गरेको छ ।