Skip to main content

धनगढीमा भोकेस्नल तालिम लिएका ४१ जना युवाहरु ओजेटी गर्दागर्दै रोजगारीमा

Submitted by editor on
फुलबारीमा रहेको भोकेस्नल स्कुलबाट यो वर्ष ८९ जनाले तालिम लिएकोमा ४१ जनाले तालिम सक्दासक्दै रोजगारी पाएका हुन ।
ईबिगुल संवाददाता
४१ जना परिक्षर्थीले रोजगारी पाए

धनगढी : धनगढी उपमहानगरपालिकाले नेपाल युथ फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन गरेको भोकेन्सनल स्कुलका ४१ जना परिक्षर्थीले रोजगारी पाएका छन । 

२०८० को असोज ६ गतेदेखि प्लम्बिंग र इलेक्ट्रिकल तालिम भएको थियो । पहिलो चरण अन्तर्गत असोज ६ गते देखि भएको तालिममा ५२ जना सहभागी मध्ये २७ जनाले प्लम्बिंग र २५ जनाले इलेक्ट्रिकल तालिम लिएका थिए । 

ती मध्ये ३३ जनाले ओजेटीकै क्रममा रोजगार पाएको धनगढी उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले जानकारी दिए । भोकेस्नल स्कुलबाट यो वर्ष चार वटा तालिम सम्पन्न भएका थिए । त्यसपछि भएको दोस्रो चरणमा भने वेल्डिङ सहायक र फर्निचर मेकरको तालिममा ३७ जना सहभागी भएका थिए । 

ती मध्ये ८ जनाले रोजगारी पाएका छन । दोस्रो चरणमा वेल्डिङ सहायकको ५५० घण्टे तालिममा २१ तथा ३९० घण्टे फर्निचर मेकर तालिममा १६ जनाले तालिम लिएका थिए ।

धनगढी उपमहानगरपालिकाको वढा नम्बर –१८ मा रहेको भोकेस्नल स्कुलबाट यो वर्ष चार विधामा ८९ जनाले तालिम लिइ सकेका छन । ‘युवाहरूलाई लक्षित गरेर चलाइएको तालिममा अहिलेसम्म ८९ जनाले तालिम लिएका छन, जसमध्ये  ४१ जनाले ओजिटीकै क्रममा रोजगारी पाएका छन् भने केहीले आफैं काम गर्न थालेका छन ।’ रोजगार संयोजक महराले भने ।

धनगढी उपमहानगरपालिकाले नेपाल युथ फाउन्डेसनसँग चालु आर्थिक वर्षमा चार वटा तालिम सञ्चालन गर्ने सम्झौता गरेको थियो । धनगढीसहित अन्य पालिकाका बेरोजगार युवाहरूलाई तालिम दिन खोलिएको भोकेस्नल स्कुलमा चार वटा तालिम दिन  ५२ लाख खर्च भएको रोजगार संयोजक महराले बताए । 

जसमध्ये २७ लाख युथ फाउन्डेसन र १५ लाख धनगढी उपमहानगरपालिकाले व्यवस्थापन गरेको हो । तालिम लिने मध्ये फूलबारी क्षेत्रभन्दा बाहिरका युवाहरूलाई यातायात खर्च बापत मासिक २ हजार दिइएको महराले बताए ।

दोस्रो चरणमा भएको वेल्डिङ सहायक र फर्निचर मेकरको तालिममा ३७ जना सहभागी भएकोमा शुक्रवार तालिम समापन भएको छ । दोस्रो चरणमा वेल्डिङ सहायकको ५५० घण्टे तालिममा २१ तथा ३९० घण्टे फर्निचर मेकर तालिममा १६ जनाले तालिम लिएका छन् ।

तालिम समापन पश्चात् उपप्रमुख कन्दकलाकुमारी रानाले युवाहरूलाई प्रमाण पत्र वितरण गरेकी छन । उनले उपमहानगरपालिकाको नीति तथा कार्यक्रमअनुसार रोजगार तथा स्वरोजगार हुन् सहयोग गर्न युवाहरूलाई विभिन्न तालिम दिन भोकेस्नल स्कुल खोलेको बताइन । 

उपमेयर रानाले तालिम पश्चात् युवाहरू आयआर्जन गर्न सक्षम हुने र आर्थिक रुपले आत्मनिर्भर हुने विश्वास व्यक्त गरिन । कार्यक्रममा वडा नम्बर १८ का अध्यक्ष भुवन रिजाल र निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीको पनि उपस्थिति रहेको थियो ।