Skip to main content

सोडारी सरकार संकटमा, विश्वासको मत नपाउने सम्भावना बढदै

Submitted by editor on
सरकार विस्तार हुन नसक्दा नीति तथा कार्यक्रम अन्यौलमा, बजेट प्रभावित हुनसक्ने सम्भावना
शिवराज भट्ट
सोडारी सरकार संकटमा

धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत नपाउने सम्भावना बढदै गएको छ । एमालेले बझाङ निर्वाचनमा समाजवादीले सहयोग नगरेको आरोप लगाएको छ भने नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन फिर्ताको संकेत गरेपछि सोडारी सरकार विश्वासको मत नपाएर ढल्ने सम्भावना बढेर गएको हो ।

‘हामी बझाङको निर्वाचनको परिणाम पर्खिरहेका छौं । बझाङमा एमालेकै मत काटने गरी समाजवादीले उमेदवार उठायो, पछिसम्म पनि चुनावमा सहकार्य गरौं भन्दा मानेन, बझाङको नतिजा पछि मात्रै सरकारमा जाने नजाने टुंगो लाग्छ’ नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिह रावलले भने ।

एमालेले बझाङमा हारेपछि, त्यसको बदला सोडारी सरकारलाई विश्वासको मत नदिने मुड बनाएको छ । सोडारीले मुख्यमन्त्रीमा नियुक्ति पाउदाका बखत पनि एमालेले उनको ठाउँमा पात्र परिवर्तनको अडान राखेको थियो । यद्यपी नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले नै सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । 

त्यस निर्णयपछि समाजवादीका नेता माधवकुमार नेपाल र एमाले अध्यक्षबीचको सम्बन्धमा आएको चिसोपनको असर पनि सुदूरपश्चिममा समाजवादीलाई पर्नसक्ने एकजना एमाले नेताले बताए । ‘बझाङमा समाजवादी जित्दैन, तर एमाले हराउन उसको भूमीका प्रबल देखिएको छ, यस्तो परिस्थितिमा कसरी उसको नेतृत्वलाई सहयोग गर्ने ?’ एकजना एमाले नेताले भने ।

एमाले सरकारमा नगएकै कारण सोडारीले मन्त्रीमण्डल विस्तार गर्न सकेका छैनन । मुख्यमन्त्री सोडारी र उन्मुक्तिका कैलाश चौधरी (भौतिक पुर्वाधार विकास मन्त्री) बाहेक सरकारका अरु मन्त्रालय खाली छन । ‘नीति तथा कार्यक्रम बनाउने बेला हो, बजेट बनाउने बेला हो, विकास निर्माणको बजेट कार्यान्वयन गर्न बेला हो, तर सरकारले पूर्णता पाएको छैन । यस्ता कुराले संघीयता झन कमजोर हुन्छ’ सुदूरपश्चिम विश्वविद्यालयका उप–प्राध्यापक सीताराम भट्टले भने ।

सोडारी वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन । उनले, तुरुन्तै सरकार विस्तार गरेर विश्वासको मत लिईहाल्ने सोच बनाएका थिए तर एमालेले तत्काल सरकारमा नजाने भनेपछि उनले सरकार विस्तार गर्न सकेका छैनन ।

एमालेका कारण मात्रै होईन, सत्ताको अर्को सारथी नागरिक उन्मुक्तिभीत्रको विवादले पनि सोडारी संकटमा परेका छन । केही दिन अघि उन्मुक्तिका २ जना प्रदेश सभा सदस्यले समर्थन दिने भनेपछि बहुमतका लागि २७ जना पुग्ने सम्भावना थियो, तर शनिबार मात्रै उन्मुक्तिका संरक्षक रेशमलाल चौधरीको फेसबुक स्टाटसले सोगारी नेतृत्वको सरकार संकटमा परेको अनुमान लगाउन सकिन्छ ।

रेशम चौधरीले, पार्टी अध्यक्ष रञ्जीतासँग बसेको तस्बिर सहित केही दिनमा सुदूरपश्चिम र लुम्बीनि प्रदेश सरकारको समर्थन फिर्ता लिने आशयको स्टाटस हालेपछि सोडारी झन ससंकित भएका छन । विभाजनको संघारमा पुगेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम र अध्यक्ष रञ्जीताबीच शनिबार पार्टीभीत्रको विवादका बारेमा छलफल भएको थियो । 

‘दुबै जना मिलेर पार्टी एक ढिक्का भएर आयो भनेपनि सोडारीलाई बहुमत पुग्दैन । उन्मुक्तिका ५ जना प्रदेश सभा सदस्य सोडारीको विपक्षमा उहिल्लै उभिसकेका छन’ एक नेताले भने । ‘सोडारी एक महिने मुख्यमन्त्री हुने सम्भावना बढेर गएको छ ।